पुस २६ , काठमाडौँ- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको सचिवालयले जानकारी दिएको छ।
प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिनेबारे निर्णय लिनका लागि संसदीय दलको बैठक बस्न लागेको हो। यद्यपि अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे एकीकृत समाजवादी बोलेको छैन्।
पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार पार्टीको बैठकले केहीबेरपछि यसबारे निर्णय लिनेछ। ‘हाम्रो पार्टीको संसदीय दलको बैठक बस्दैछ। त्यसपछि यसबारे निर्णय लिन्छौं।’ खनालले नेपालखबरसँग भने।
साथै, उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पनि संकेत गरे। ‘औपचारिक निर्णय त हुन बाँकी छ,’ खनालले भने, ‘सायद मत दिनेगरी निर्णय हुन्छ होला।’
माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै एकीकृत समाजवादीमा विश्वासको मत दिनेबारे दुई धार देखिएको थियो।
उता, बागमती प्रदेशमा भने एकीकृत समाजवादीले माओवादी नेतृत्वको सरकारलाई समर्थन गरिसकेको छ। बागमतीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीमा दाबी गर्दा समाजवादीका सातजना सांसदले समर्थन गरेका छन्।
‘बागमतीमा समर्थन दिइएको छ। अब यता पनि दिने नै होला,’ एक नेताले भने, ‘हिजो संसद बैठकपछि शीर्ष नेताहरुको अभिव्यक्तिले पनि त्यही कुरा देखाउँछ।’
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन्।