असार महिनाका लागि नयाँ बैंकहरूको ब्याजदर सार्वजनिक, कुन–कुन बैंकले घटाए ब्याजदर ? - Chaitanya News
  • 2026-06-14
  • 17:06:14
  • आइतबार,जेठ ३१, २०८३
  • असार महिनाका लागि नयाँ बैंकहरूको ब्याजदर सार्वजनिक, कुन–कुन बैंकले घटाए ब्याजदर ?

    असार महिनाका लागि नयाँ बैंकहरूको ब्याजदर सार्वजनिक, कुन–कुन बैंकले घटाए ब्याजदर ?

    काठमाडौँ– वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन्। २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ।

    जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ३४ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३ दशमलव १८ प्रतिशत कायम भएको छ। जेठमा ३ दशमलव २० प्रतिशत थियो। असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

    ब्याजदर घटाएको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३ दशमलव ९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४ दशमलव ७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४ दशमलव ७५ प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ दशमलव ५० प्रतिशत, माछापुच्छ्रे बैंक ४ दशमलव ५० प्रतिशत, सानिमा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल बैंकले ४ दशमलव २५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव २५ प्रतिशत, कृषि विकास बैंकले ४ दशमलव १५ प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव १० प्रतिशत, एभरेष्ट बैंकले ४।०५ प्रतिशत र सिद्धार्थ बैंकले ४ दशमलव ०५ प्रतिशत ब्याजदर कायम गरेको बैंकले जनाएको छ।