‘प्रहरी संगठन जनताका पहिलो सरकार हो’ - Chaitanya News
  • 2026-06-14
  • 15:45:38
  • आइतबार,जेठ ३१, २०८३
  • ‘प्रहरी संगठन जनताका पहिलो सरकार हो’

    ‘प्रहरी संगठन जनताका पहिलो सरकार हो’

    विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन्।

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी संगठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति संगठन जिम्मेवार बत्रुपर्ने विचार राखे।

    मुख्यमन्त्री कार्कीले प्रहरी संगठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै संगठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे।

    उनले प्रहरीको नीति र ऐनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला निर्माण र ‘डिजिटल’ प्रणालीमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    मुख्यमन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा स्थापना गर्न र सुशासनअन्तर्गत अपराध अनुसन्धानमा प्रहरी संगठनले इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव दिए।