धार्मिक सद्भाव जोगाउन कैलालीमा सर्वपक्षीय एकता, उत्तेजक गतिविधिविरुद्ध कडा चेतावनी - Chaitanya News
  • 2026-08-02
  • 17:35:12
  • आइतबार,साउन १७, २०८३
  • धार्मिक सद्भाव जोगाउन कैलालीमा सर्वपक्षीय एकता, उत्तेजक गतिविधिविरुद्ध कडा चेतावनी

    धार्मिक सद्भाव जोगाउन कैलालीमा सर्वपक्षीय एकता, उत्तेजक गतिविधिविरुद्ध कडा चेतावनी

    काठमाडौँ– कैलालीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, विभिन्न धर्मका अगुवा, नागरिक समाज र प्रशासन एकै ठाउँमा उभिएका छन्। धनगढीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन साझा प्रतिबद्धता व्यक्त गरेको हो।

    बैठकमा सहभागी हिन्दु, मुस्लिम, इसाईलगायत विभिन्न धार्मिक समुदायका प्रतिनिधिले समाजमा सदियौँदेखि कायम रहेको आपसी विश्वास र सहअस्तित्वलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्दै सार्वजनिक हित र सामाजिक सद्भावका पक्षमा सक्रिय रहने प्रतिबद्धता जनाए।

    प्रमुख जिल्ला अधिकारी रेग्मीले देशका केही क्षेत्रमा धार्मिक सद्भाव खल्बल्याउने गतिविधि देखिएकाले त्यसको असर कैलालीमा पर्न नदिन प्रशासनले उच्च सतर्कता अपनाएको बताए। विशेष गरी सीमा नाकाबाट हुने आवतजावत तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको उल्लेख गर्दै उनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

    बैठकले स्थानीय तहमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ। साथै धार्मिक सभा, जुलुस तथा अन्य कार्यक्रम सञ्चालन गर्दा पूर्वस्वीकृति लिनुपर्ने, धार्मिक गतिविधिमा हतियार वा लाठीजस्ता सामग्री प्रदर्शन गर्न नपाइने र अर्को समुदायको धार्मिक आस्थामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्ने सहमति गरिएको छ।

    त्यसैगरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक द्वेष फैलाउने, भ्रामक वा उत्तेजक सामग्री प्रचार–प्रसार गर्ने व्यक्ति वा संस्थामाथि कानुनअनुसार कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ।

    सीमापारबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाउनुपर्ने व्यवस्था प्रभावकारी बनाइने र सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिने प्रशासनले जनाएको छ।

    यसैबीच, शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा सोमबार धनगढीमा राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णयसमेत गरिएको छ।