कांग्रेस एकताका लागि नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला आयोजना - Chaitanya News
  • 2026-08-03
  • 15:46:02
  • सोमबार,साउन १८, २०८३
  • कांग्रेस एकताका लागि नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला आयोजना

    कांग्रेस एकताका लागि नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला आयोजना

    काठमाडौँ– नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ। नेता नैनसिंह महर र रञ्जित कर्णको अगुवाइमा सुरु गरिएको अभियानअन्तर्गत साउन २० गते काठमाडौँमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने भएको छ।

    आयोजकका अनुसार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजे हुने भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र तथा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

    अभियानले कांग्रेसको आन्तरिक एकतालाई लोकतन्त्रको सुदृढीकरणसँग जोड्दै पार्टी कमजोर हुँदा लोकतान्त्रिक प्रणाली र राष्ट्रिय हितसमेत प्रभावित हुने जनाएको छ। पार्टीभित्रको अविश्वास र गुटगत राजनीति अन्त्य गरी जनतासँगको सम्बन्ध थप मजबुत बनाउने अभियानको लक्ष्य रहेको उल्लेख गरिएको छ।

    साथै, अभियानले मुलुकमा बढ्दो आर्थिक चुनौती, बेरोजगारी, युवा पलायन तथा सामाजिक तनावजस्ता विषयमा सरकार र प्रमुख प्रतिपक्ष दुवै प्रभावकारी बन्नुपर्ने आवश्यकता औँल्याएको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव फैलिँदा सरकार प्रभावकारी हुन नसकेको र प्रतिपक्ष कांग्रेस पनि आन्तरिक विवादमै केन्द्रित रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

    अभियान कुनै व्यक्ति, गुट वा पदको पक्षमा नभई संगठनात्मक एकता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि भएको स्पष्ट पारिएको छ। साउन २० को राष्ट्रिय एकता भेलाबाट आगामी कार्यदिशा सार्वजनिक गरिने जनाउँदै कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नागरिकलाई सहभागिताका लागि आह्वान गरिएको छ।