नदी, पहाड र मौनता : बैतडीको यात्रा - Chaitanya News
  • 2026-08-02
  • 18:18:02
  • आइतबार,साउन १७, २०८३
  • नदी, पहाड र मौनता : बैतडीको यात्रा

    नदी, पहाड र मौनता : बैतडीको यात्रा

    (नियात्रा)

     तोमनाथ उप्रेती:

    यात्रा सधैँ मनले पहिलो प्रश्न सोधेको क्षणदेखि सुरु हुन्छ। मानिसले घरको ढोका बन्द गर्नुभन्दा धेरै पहिले उसले आफ्ना स्मृतिहरू, आकाङ्क्षाहरू र अधुरा उत्तरहरू बोकेर यात्रामा निस्किसकेको हुन्छ। त्यसैले यात्रा गन्तव्य भेट्ने प्रक्रिया मात्र होइन आफूलाई पुनः भेट्ने साधना पनि हो। संसारका सबै बाटाहरू अन्ततः कुनै न कुनै भूगोलमा पुग्छन्, तर प्रत्येक साँचो यात्रा अन्तर्मनको कुनै नदेखिएको प्रदेशमा पुगेर मात्र पूर्ण हुन्छ।

    बाटोले मानिसलाई  नयाँ दृश्य मात्र देखाउँदैन नयाँ दृष्टि पनि दिन्छ। पहाडले धैर्य सिकाउँछ। नदीले निरन्तरता सिकाउँछ। वनले मौनताको भाषा सिकाउँछ। आकाशले सीमाहीनताको अर्थ बुझाउँछ। यात्रामा भेटिने प्रत्येक घुम्ती एउटा प्रश्न हो। प्रत्येक पुल एउटा सम्भावना हो। प्रत्येक नदी एउटा दर्शन हो। प्रत्येक अपरिचित अनुहार जीवनको नयाँ अध्याय हो। शायद यही कारण यात्रा चेतनालाई विस्तार गर्ने कला हो।

    कहिलेकाहीँ हामी कुनै ठाउँ हेर्न निस्कन्छौँ, तर फर्कँदा थाहा हुन्छ हामीले ठाउँभन्दा बढी आफूलाई देखेर आएका रहेछौँ। यात्राले हाम्रो अहङ्कारलाई सानो बनाउँछ र संसारलाई विशाल। यसले सिकाउँछ कि पृथ्वी हाम्रो स्वामित्व होइन। हामी त यसका क्षणिक यात्रु मात्र हौँ। समयको अनन्त राजमार्गमा केही दिनका लागि हिँडिरहेका पथिक।

    यही अनुभूतिसँग एक बिहान म काठमाडौंबाट बैतडीतर्फ निस्किएँ। गन्तव्य थियो महाकालीको किनारमा रहेको झुलाघाट। तर मेरो खोज एउटा सीमा बजारको मात्र थिएन। म खोज्दै थिएँ पहाडहरूको मौनता, नदीहरूको शाश्वत गीत, चार केदारको आध्यात्मिक स्पन्दन, अमर सहिद दशरथ चन्दको जन्मभूमिको आत्मगौरव र सुदूरपश्चिमको माटोमा सुरक्षित रहेको नेपाली सभ्यताको एउटा जीवित अध्याय।

    काठमाडौं अझै निद्रामै थियो। नागार्जुनको डाँडामाथि बिहानको पहिलो सुनौलो उज्यालो विस्तारै फैलिरहेको थियो। सडकहरू शान्त थिए। शहरले आफ्ना आँखा पूर्ण रूपमा खोलेको थिएन। तर मेरो मन धेरै अघिदेखि जागिसकेको थियो। किनकि केही यात्राहरू सूर्योदयसँग होइन, जिज्ञासासँग सुरु हुन्छन्। गाडी पृथ्वी राजमार्गतर्फ मोडियो। पहाडहरूले मलाई फेरि आफ्नो काखमा बोलाइरहेका थिए। त्यस क्षण मैले महसुस गरेँ म बाटोमा हिँडिरहेको थिइनँ। बाटो नै मलाई जीवनको अर्को अध्यायतर्फ लिएर हिँडिरहेको थियो।

    मुग्लिनतर्फ झर्दै गर्दा त्रिशूली नदी यात्राकी मौन सहयात्री बनेर सँगसँगै बगिरहेकी थिई। कहिले विशाल चट्टानसँग ठोक्किएर फिँज उठाउँदै, कहिले गहिरा खोँचभित्र नीलो शान्तिमा हराउँदै, त कहिले वेगवान हुँदै आफ्नै लयमा समुद्रतर्फ अघि बढ्दै। बिहानको सुनौलो घाम नदीको सतहमा पर्दा जलराशि असंख्य हीराका कणझैँ टल्किन्थ्यो। नदीको दुवैतिर उभिएका हरिया पहाडहरूले उसलाई मातृस्नेहले अँगालेका जस्ता देखिन्थे। कुहिरोका पातला घुम्टाहरू पहाडको काखबाट बिस्तारै हट्दै थिए, मानौँ प्रकृतिले आफ्नो सुन्दर अनुहार विस्तारै उजागर गरिरहेकी हो।

    भीरका काखमा अडेस लागेका साना गाउँहरू बिहानको शान्तिमा झन् मनमोहक देखिन्थे। ढुङ्गाले बनेका घरहरू, टिन र स्लेटका छाना, आँगनभरि फुलेका लालिगुराँस, सयपत्री र स्थानीय फूलहरूले ग्रामीण जीवनलाई सजीव बनाइरहेका थिए। चुल्होबाट उठेको धुवाँ हावासँग मिसिँदै नीलो आकाशतर्फ उड्थ्यो, जसले घर परिवारको न्यानोपन र आत्मीयताको अनुभूति गराउँथ्यो। सिँढीदार खेतहरूमा हरियो धान, मकै र कोदोका बोटहरू हावाको तालमा झुलिरहेका थिए। टाढाबाट सुनिने चराहरूको मधुर स्वर, झरनाको कलकल ध्वनि र नदीको अविरल गुञ्जन मिलेर प्रकृतिको अनुपम संगीत सिर्जना गरिरहेका थिए।

    यस सौन्दर्यको बीचमा बिहानै खेततिर लागेका किसानहरू प्रकृतिका वास्तविक सहयात्रीजस्ता देखिन्थे। उनीहरूको पसिनाले मात्र खेत हराभरा भएका थिएनन्। यही श्रमले पहाडको जीवन धानेको थियो। त्यस क्षण लाग्यो, प्रकृतिको सौन्दर्य केवल दृश्यमा सीमित हुँदैन। त्यो नदीको प्रवाहमा, पहाडको मौनतामा, खेतको हरियालीमा र श्रमशील हातहरूको गरिमामा पनि उत्तिकै उज्यालो भएर बाँचिरहेको हुन्छ।

    नारायणघाट पुग्दा वातावरण बदलिएको थियो। यहाँ त्रिशूली र नारायणीले मिलेर विशाल जीवनधारा बनाएका छन्। दुई नदीको संगम हेर्दा मनमा एउटा विचार आयो। भिन्नता विभाजन होइन। मिलन नै सृष्टिको नियम हो। नदीहरू आफ्नो पहिचान गुमाउँदैनन्। मिलेर अझ ठूलो बन्छन्। मानिसले पनि यही सिक्नुपर्छ।

    नारायणीको किनारमा केही समय उभिएँ। पानीले घामको उज्यालोलाई हजारौँ टुक्रामा विभाजन गरिरहेको थियो। प्रत्येक चमक एउटा आशाजस्तो देखिन्थ्यो। प्रकृतिले प्रकाशलाई पनि कविता बनाउन जानेकी रहिछे।

    गाडी फेरि पश्चिमतर्फ दौडियो। चितवनको हरियाली बिस्तारै नवलपरासीका समथर फाँटमा फैलियो। सडकका दुवैतिर फैलिएका विशाल सालका वनहरू प्रकृतिका मौन प्रहरीझैँ शताब्दीयौँदेखि उभिएका थिए। बिहानको मन्द हावाले सालका पातहरूलाई हल्का हल्लाउँदा यस्तो लाग्थ्यो, मानौँ वनले आफ्नै गोप्य भाषामा यात्रुलाई स्वागत गरिरहेको छ। घामका किरणहरू रूखका हाँगाबीचबाट छिर्दै भुइँमा उज्यालोका अनगिन्ती आकृतिहरू कोर्थे। वनको सुगन्ध माटो, पात र वर्षौँदेखि झरेका पातहरूको जीवनचक्रबाट जन्मिएको एउटा अदृश्य कविता थियो।

    कहिले बाँदरका हुल एक रूखबाट अर्को रूखमा फुर्तीका साथ उफ्रिरहेका देखिन्थे। उनीहरूको चञ्चलता वनको जीवन्त धड्कनजस्तै थियो। कतै हरिणका झुन्ड घाँस चरिरहेका थिए। कतै नीलगाईको शान्त चालले वनलाई थप गरिमा दिएको थियो। चराहरूको संसार त झन् अद्भुत थियो। कोइलीको मधुर स्वर, ढुकुरको गुटुरगुँ, कठफोराको रूखमा ठकठक, हरियो सुगाको उडान, चिलको आकाशमा वृत्ताकार परिक्रमा र असंख्य साना चराहरूको सामूहिक गुञ्जनले वातावरणलाई प्राकृतिक सङ्गीतालयमा रूपान्तरण गरिरहेका थिए। यस्तो लाग्थ्यो, यहाँ प्रत्येक जीवले प्रकृतिको विशाल वाद्यवृन्दमा आफ्नो-आफ्नो स्वर थपिरहेको छ।

    बुटवल पुग्दा चुरे पहाडले आफ्नो हरियो काख फैलाएर स्वागत गर्‍यो। यहाँ तराई र पहाडबीच कुनै विभाजन देखिँदैन; दुवैले एकअर्कालाई आत्मीय अँगालो हालेका छन्। चुरेका ढलानहरूमा उम्रिएका सल्ला, खयर, साज, सिसौ र सालका वनहरूले भूगोललाई बहुरङ्गी हरियालीले सजाएका थिए। पहाडको टाकुरामा अडेस लागेका झाडीहरू, झरनाको शीतल फुहार, लहरै उभिएका बाँसघारी र बेलबुट्टाले सजिएका वनस्पतिहरूले प्रकृतिलाई आफ्नै लयमा सिँगारिरहेका थिए।

    बुटवलबाट पश्चिम लागेपछि कपिलवस्तु र दाङका विशाल मैदानहरू खुल्दै गए। जहाँसम्म आँखा पुग्थ्यो, त्यहाँसम्म गहुँ, धान, मकै र उखुका खेतहरू लहरिएका थिए। खेतहरूमा फर्फराइरहेका सेता बकुल्ला, पानीमा हिंडिरहेका सारस, आकाशमा मडारिरहेका चिल र खेतको छेउमा बसेका मैनाहरूले कृषि र प्रकृतिको अनुपम सहअस्तित्व देखाइरहेका थिए। सिँचाइका नहरहरूमा स्वच्छ पानी बगिरहेको थियो। किनारमा फक्रिएका जंगली फूलहरूमा मौरी र पुतलीहरू मकरन्द सङ्कलनमा व्यस्त थिए। रंगीबिरंगी पुतलीहरू हावामा नाचेजस्ता देखिन्थे, मानौँ प्रकृतिले आफ्नो क्यानभासमा गतिशील रङ भरेकी हो।

    कोहलपुर पुग्दा पश्चिम नेपालको प्रकृति अझ खुला, अझ स्वच्छ र अझ आत्मीय लाग्यो। यहाँको हावा शीतल मात्र थिएन जीवनले भरिएको थियो। वनभित्र कतै मयुरले आफ्ना प्वाँख फिँजाएर नाचिरहेको कल्पना सहजै गर्न सकिन्थ्यो। बर्दिया राष्ट्रिय निकुञ्ज नजिकिँदै जाँदा हात्ती, गैंडा, बाघ, चित्तल, जंगली बँदेल र असंख्य वन्यजन्तुको अदृश्य उपस्थितिले वनलाई रहस्यमय गरिमा दिएको अनुभूति हुन्थ्यो। वनको प्रत्येक रूख, प्रत्येक लहरा, प्रत्येक फूल र प्रत्येक जीवले एउटै सत्य उद्घोष गरिरहेका थिए।प्रकृति एउटा जीवित सभ्यता हो। यसलाई बुझ्नुपर्छ। सम्मान गर्नुपर्छ। यही निष्कलुष, अछुतो र जीवनदायी प्राकृतिक सौन्दर्यले यात्रालाई आत्मालाई शुद्ध बनाउने आध्यात्मिक अनुभवमा रूपान्तरण गरिदियो।

    कोहलपुरबाट बर्दियातर्फ लाग्दा सालका विशाल वनहरूले यात्रालाई नयाँ लय दिए। रूखहरू हजारौँ मौन साधुजस्ता उभिएका थिए। उनीहरू बोल्दैनन्। तर उनीहरूको मौनताभित्र शताब्दीहरूको ज्ञान सुरक्षित छ।

    बर्दिया राष्ट्रिय निकुञ्जको आसपास पुग्दा प्रकृति आफ्नो सबैभन्दा मौलिक रूपमै देखापरिन्। घना वन। चराहरूको गुञ्जन। हरिणका पदचिह्न। कतै हात्तीको सम्भावित बाटो। कतै बाघको उपस्थितिको रहस्य। वनले आफूलाई पूर्ण रूपमा कहिल्यै देखाउँदैन। केही रहस्य सधैँ सुरक्षित राख्छ। शायद रहस्य नै सौन्दर्यको अर्को नाम हो।

    थारू बस्तीहरू देखिन थाले। माटोका घरहरू। परालका छाना। सफा आँगन। जीवन यहाँ सरल थियो। तर त्यो सरलताभित्र आत्मसम्मान थियो। आधुनिकता सुविधाले मापन हुन सक्छ। तर सभ्यता भने सरल जीवन जिउन सक्ने क्षमताले मापन हुन्छ।

    बर्दियाको साँझ अद्भुत थियो। पश्चिम आकाश राताम्मे भएको थियो। सालका रूखहरू सुनौलो घाममा नुहाइरहेका थिए। हावाले पातहरू चलाउँदा लाग्थ्यो—वनले कुनै प्राचीन मन्त्र उच्चारण गरिरहेको छ।

    केहीबेरपछि चिसापानी आयो। अचानक कर्णालीको विराट स्वरूप आँखाअघि खुल्यो। पुलमाथि उभिँदा लाग्यो, नदीले मेरो उचाइ होइन, मेरो अहङ्कार नापिरहेकी छ। हिमालका हिमशिखरबाट जन्मिएर हजारौँ किलोमिटरको कठिन यात्रा पार गर्दै आएकी कर्णाली यहाँ पनि उस्तै शान्त, उस्तै उदार र उस्तै विनम्र भएर बगिरहेकी थिई। चट्टानहरू चिरेर, खोँचहरू पार गरेर, अनगिन्ती उपनदीहरूलाई अँगाल्दै अघि बढेकी यस नदीले जीवनको एउटा महान् सत्य सुनाइरहेकी थिई।महानता शक्ति प्रदर्शनमा होइन, निरन्तर दिन सक्ने उदारतामा हुन्छ।

    कर्णाली पुलबाट तल हेर्दा नदीको नीलो जलराशि बिहानको घाममा चाँदीका लाखौँ कणझैँ टल्किरहेको थियो। दुवैतिर फैलिएका हरिया वन, बलौटे किनार, चट्टानी भित्ताहरू र टाढासम्म फैलिएका पहाडहरूले नदीलाई प्राकृतिक मुकुट पहिराइदिएका थिए। हावाले पानीको सतहमा हल्का तरङ्ग उठाउँदा ती तरङ्गहरू सूर्यका किरणसँग खेल्दै अनन्त संगीत रचिरहेका थिए। नदीमाथि उडिरहेका बकुल्ला, माछाको खोजीमा डुबुल्की मारिरहेका जलचर चराहरू, किनारमा उभिएका सेता सारस र आकाशमा मडारिरहेका चिलहरूले सम्पूर्ण दृश्यलाई जीवन्त बनाइरहेका थिए।

    चिसापानीको वनस्पति पनि उत्तिकै मनमोहक थियो। साल, साज, सिसौ र खयरका विशाल रूखहरू हावासँग मन्द संवाद गरिरहेका थिए। झाडीहरूमा फक्रिएका जंगली फूलहरूमा मौरी र पुतलीहरू व्यस्त थिए। कतै बाँदरका हुल रूखका टुप्पाबाट यात्रुलाई कौतूहलपूर्ण दृष्टिले हेरिरहेका थिए। वनको गहिराइमा चित्तल, बँदेल, नीलगाई र दुर्लभ वन्यजन्तुको मौन उपस्थितिले प्रकृतिलाई अझ रहस्यमय बनाइरहेको थियो। यहाँ प्रत्येक रूख, प्रत्येक ढुङ्गा, प्रत्येक चराको स्वर र प्रत्येक हावाको झोक्काले एउटा अदृश्य कथा सुनाइरहेका थिए।

    मैले पुलको रेलिङ समातेर धेरै बेर कर्णालीलाई हेरिरहेँ। नदी कुनै हतारमा थिइनन्। उनी आफ्नै लयमा बगिरहेकी थिइन्। त्यही क्षण मलाई लाग्यो समयलाई जित्नेहरू दौडनेहरू होइनन्। आफ्नो लय नछोड्नेहरू हुन्। कर्णालीले मलाई सिकाइन्, जीवनको सौन्दर्य गन्तव्यमा मात्र हुँदैन यात्रा गरिरहने साहसमा पनि हुन्छ। नदी समुद्रसम्म पुग्छे किनकि ऊ कहिल्यै आफ्ना स्रोतलाई बिर्सँदिन र कहिल्यै आफ्नो प्रवाह रोक्दिन। मानिसको जीवन पनि त्यस्तै हो जसले आफ्नो मूलसँग सम्बन्ध जोगाउँछ र परिवर्तनलाई अँगाल्दै अघि बढ्छ, उसैले जीवनको वास्तविक विशालता प्राप्त गर्छ।

    पुलमाथिबाट तल हेर्दा पानी नीलो आकाश बोकेर बगिरहेको थियो। किनारका बालुवाले सूर्यास्तको रङ समातिरहेका थिए। माछा मार्ने डुङ्गाहरू नदीको लयसँगै चलिरहेका थिए। समय केहीबेर रोकिएजस्तो लाग्यो।

    रात नजिकिँदै थियो।

    अर्को बिहान यात्रा घोडाघोडी तालतर्फ अघि बढ्यो।

    घोडाघोडी पुग्नेबित्तिकै वातावरण बदलियो। यहाँ हावामा एउटा अद्भुत शान्ति थियो। तालको सतह ऐनाजस्तै स्थिर थियो। वरिपरिका सिमसार, सालका वन, कमलका पात र चराहरूको मधुर स्वरले सम्पूर्ण क्षेत्रलाई ध्यानस्थ आश्रम बनाएको थियो।

    तालले आकाशलाई आफ्नो काखमा राखेको थियो। बादलहरू पानीमा पौडिरहेका जस्ता देखिन्थे। हावाको हल्का स्पर्शले पानीमा साना तरङ्ग उठ्थे। ती तरङ्गहरू विस्तारै हराउँथे। त्यस क्षण मैले बुझें विचारहरू पनि यस्तै हुन्। आउँछन्। फैलिन्छन्। फेरि मौनतामा विलीन हुन्छन्।

    घोडाघोडी केवल एउटा ताल होइन। यो प्रकृतिले रचेको ध्यान हो।त्यहाँ बसेर मैले धेरैबेर केही बोलेनँ।किनकि केही ठाउँहरूमा शब्दहरू अनावश्यक हुन्छन्।मौनताले नै सबैभन्दा सुन्दर यात्रा–वृत्तान्त लेखिरहेको हुन्छ।

    घोडाघोडी तालबाट उठ्दा मनमा एउटा अनौठो शान्ति थियो। ताल त्यहीँ थियो। तर त्यसको प्रतिबिम्ब अब मेरो मनभित्र पनि बसेको थियो। शायद यही यात्राको अर्थ हो हामी कुनै ठाउँ छोडेर अघि बढ्छौँ, तर त्यो ठाउँ हाम्रो चेतनाभित्र यात्रा गरिरहन्छ।

    गाडी फेरि पश्चिमतर्फ लाग्यो।

    कैलालीका विशाल फाँटहरू विस्तारै पछाडि छुट्न थाले। धानका खेतहरू, उखुका बारीहरू, खुला आकाश र क्षितिजसम्म फैलिएको हरियालीले पश्चिम तराईको समृद्धि देखाइरहेका थिए। हावाले खेतका बालीहरूलाई एकै दिशामा झुकाउँदा लाग्थ्यो, पृथ्वी आफैँ कुनै मौन स्तुति गाइरहेकी छ। प्रकृतिमा अहङ्कार हुँदैन। सबै एकअर्कासँग मिलेर अस्तित्वको उत्सव मनाउँछन्।

    केहीबेरपछि अत्तरिया आइपुग्यो। यो सुदूरपश्चिम नेपालको आत्मामा प्रवेश गराउने द्वार हो। यहाँ आइपुग्दा लाग्छ, यात्राले एउटा नयाँ अध्याय सुरु गरेको छ। तराईका अनन्त समथर मैदानहरू बिस्तारै पछाडि छुट्न थाल्छन् र क्षितिजमा हरिया पहाडहरू नजिकिँदै आउँछन्। हावाको तापक्रम बदलिन्छ। माटोको गन्ध बदलिन्छ। वनस्पतिको स्वरूप बदलिन्छ। भूगोल मात्र होइन, प्रकृतिको लय नै फेरिन थाल्छ। समथर भूमि विस्तारै पहाडको काखमा समर्पित हुन्छ, मानौँ पृथ्वीले आफ्नै अर्को रूप यात्रुलाई देखाउन चाहेकी हो।

    अत्तरियाबाट डडेलधुरातर्फ उकालो सुरु भयो। पहिलो घुम्तीमै मैले महसुस गरेँ।पहाडले यात्रुलाई कहिल्यै हतार गर्न दिँदैन। यहाँ प्रत्येक मोड धैर्यको परीक्षा हो। प्रत्येक उकालो आत्मविश्वासको पाठ हो। प्रत्येक घुम्ती नयाँ दृश्यको निमन्त्रणा हो। सिधा बाटोले गन्तव्य छिटो देखाउन सक्छ, तर घुमाउरो बाटोले संसारलाई गहिरोसँग चिनाउँछ।

    सडक साँघुरो थियो, तर दृश्यहरू असीमित थिए। एकातिर आकाश छुने अग्ला भीरहरू शताब्दीयौँदेखि समयका मौन साक्षीजस्ता उभिएका थिए। अर्कोतिर अथाह खोँचहरू पृथ्वीको गहिरो ध्यानजस्ता लाग्थे। तल बगेका साना खोलाहरू चाँदीका धागाजस्तै चम्किरहेका थिए। माथि फैलिएको नीलो आकाश बादलका सेता टुक्राहरूसँग खेलिरहेको थियो। हरिया डाँडाहरूमा सल्ला, बाँझ, गुराँस, उत्तिस र काफलका वनहरूले प्रकृतिलाई हरियो वस्त्र पहिराइदिएका थिए। घामका किरणहरू रूखका हाँगाबीचबाट छिर्दै पहाडका काखमा सुनौलो चित्र कोरिरहेका थिए।

    कहिलेकाहीँ सडकको किनारमा झरेका झरनाहरू चट्टानमाथिबाट मुक्त हाँसोझैँ खसिरहेका देखिन्थे। चिसो हावाले ती फुहारलाई टाढासम्म बोकेर ल्याउँथ्यो। चराहरूका मधुर स्वरले वनलाई जीवन्त बनाइरहेका थिए। आकाशमा मडारिरहेका चिल, रूखमा बसेका ढुकुर, कोइलीको मिठो धुन र वनभित्र सुनिने अज्ञात चराहरूका आवाजले प्रकृतिलाई एउटा विशाल संगीतसभामा रूपान्तरण गरेका थिए। टाढाका पाखाहरूमा सिँढीदार खेतहरू हरिया र सुनौला रङमा सजिएका थिए। कतै किसान खेतमा काम गरिरहेका थिए, कतै गाईवस्तु चर्दै थिए, कतै गाउँका बालबालिका खुला आकाशमुनि रमाइरहेका थिए।

    त्यो दृश्य हेर्दै गर्दा मलाई लाग्यो पहाडमा दूरी किलोमिटरले मापन हुँदैन, अनुभवले मापन हुन्छ। प्रत्येक घुम्तीले नयाँ दृश्य मात्र देखाउँदैन। नयाँ विचार पनि जन्माउँछ। यहाँ प्रकृतिले सिकाउँछ कि जीवन सधैँ सिधा बाटोमा सुन्दर हुँदैन। कहिलेकाहीँ उकालो, घुम्ती र कठिन मोडहरू नै जीवनका सबैभन्दा सुन्दर दृश्यहरूतर्फ लैजान्छन्। त्यस क्षण मैले महसुस गरेँ, हामी केवल डडेलधुरातर्फ उक्लिरहेका थिएनौँ; हामी धैर्य, विनम्रता र प्रकृतिको गहिरो दर्शनतर्फ पनि उक्लिरहेका थियौँ।

    घुम्तीहरू एकपछि अर्को आउँथे। प्रत्येक मोडले नयाँ दृश्य जन्माउँथ्यो। कतै कुहिरोले डाँडालाई सेतो वस्त्र ओढाइदिएको थियो। कतै घामले हरिया पाखाहरूलाई सुनौलो बनाइरहेको थियो। कतै झरना चट्टानबाट झर्दै आफ्नो अनन्त गीत गाइरहेको थियो।

    मैले बाटोछेउको एउटा झरनालाई धेरैबेर हेरिरहेँ। ऊ अग्लो चट्टानको काखबाट निरन्तर तल झरिरहेकी थिई। पहिलो दृष्टिमा लाग्थ्यो, मानौँ ऊ तल खसिरहेकी छ। तर ध्यान दिएर हेर्दा बुझिन्थ्यो ऊ खसेकी होइन, आफ्नै गन्तव्यतर्फ अघि बढिरहेकी हो। चट्टानले उसलाई रोक्न सकेको थिएन। गुरुत्वाकर्षणले उसलाई पराजित गरेको थिएन। बरु प्रत्येक अवरोहसँगै ऊ अझ शुद्ध, अझ चञ्चल र अझ सुन्दर बन्दै गएकी थिई। सूर्यका किरणहरू पानीका कणमा पर्दा सात रङको इन्द्रेणी झुल्किन्थ्यो। फिँजका साना थोपाहरू हावामा मोतीझैँ चम्किन्थे। झरनाको मधुर निनादले सम्पूर्ण वनलाई ध्यानमय बनाइरहेको थियो।

    त्यस क्षण मलाई लाग्यो, जीवनले पनि कहिलेकाहीँ हामीलाई तल झार्छ। तर प्रत्येक ओरालो हारको प्रतीक हुँदैन। कतिपय ओरालोले नै नयाँ नदी जन्माउँछन्। झरना तल झरेर नदी बन्छे। नदी समुद्र बन्छे। त्यसैले जीवनमा आएको प्रत्येक कठिन मोड सम्भावनाको अर्को आरम्भ पनि हुन सक्छ। प्रकृतिले कुनै उपदेश दिँदिन। ऊ आफ्नै अस्तित्वबाट दर्शन सिकाउँछ।

    डडेलधुराको जंगलमा प्रवेश गरेपछि हावाको सुगन्ध नै फेरियो। तराईका सालका वन विस्तारै हराउँदै गए। तिनको स्थान सल्ला, बाँझ, उत्तिस, गुराँस, काफल र ओकका रूखहरूले लिन थाले। अग्ला सल्लाका रूखहरू आकाशतर्फ उक्लिरहेका थिए। उनीहरूका हरिया शिखरहरू बादलसँग संवाद गरिरहेका जस्ता देखिन्थे। गुराँसका राता फूलहरूले हरिया वनलाई जीवनको उज्यालो रङ दिएका थिए। रूखका पातहरूबाट छिर्दै गरेका सूर्यका किरणहरूले वनभित्र सुनौलो आलोक छरेका थिए। चिसो हावाले सल्लाका सुइँजस्ता पातहरू हल्लाउँदा एउटा अदृश्य बाँसुरी बजिरहेको अनुभूति हुन्थ्यो।

    त्यही बेला मेरो दृष्टि रूखहरूको जरातिर गयो। उनीहरू जति अग्ला थिए, त्यति नै गहिरो गरी पृथ्वीसँग जोडिएका थिए। त्यस क्षण एउटा सत्य मनमा उदायो।मानिस जति माथि उठ्न चाहन्छ, उति नै विनम्र भएर आफ्ना मूलसँग जोडिनुपर्छ। जरा नभएको रूख पहिलो आँधीमै ढल्छ। संस्कार, स्मृति र आफ्नो माटोसँगको सम्बन्ध नै मानिसको जरा हो। रूखहरू बोल्दैनन्, तर उनीहरूको मौन अस्तित्व जीवनको सबैभन्दा गहिरो दर्शन बनेर उभिएको हुन्छ।

    डडेलधुराका पहाडी बस्तीहरू विस्तारै देखिन थाले। ढुङ्गाले बनेका घरहरू, जस्ताका छाना, आँगनभरि फुलेका सयपत्री, मखमली र स्थानीय फूलहरूले गाउँलाई आत्मीय बनाएका थिए। गोठमा बाँधिएका गाईभैँसी, डाँडामा चर्दै गरेका बाख्रा, आँगनमा खेलिरहेका बालबालिका र खेतमा काम गरिरहेका किसानहरूले पहाडको जीवनलाई स्पन्दित बनाइरहेका थिए। महिलाहरू नाम्लोमा घाँस बोकेर उकालो चढिरहेका थिए। वृद्धहरू चौतारीमा बसेर यात्रुलाई मुस्कानले स्वागत गरिरहेका थिए। उनीहरूको अनुहारमा श्रमको थकान थियो, तर आँखामा सन्तोषको उज्यालो थियो।

    त्यस दृश्यले मलाई गहिरो रूपमा छोयो। यहाँ जीवन सहज थिएन। उकालो थियो। कठिनाइ थियो। सीमित साधन थिए। तर जीवन अर्थहीन थिएन। पहाडले सुविधा कम दिन्छ, तर आत्मनिर्भर बन्न सिकाउँछ। यहाँ प्रत्येक पाइलाले संघर्षको मूल्य बुझाउँछ। प्रत्येक उकालोले धैर्यको परीक्षा लिन्छ। प्रत्येक दिनको श्रमले सम्मानको अर्थ सिकाउँछ। शायद यही कारण पहाडका मानिसहरू सम्पन्न नभए पनि समृद्ध देखिन्छन्। उनीहरूसँग प्रकृतिको निकटता, श्रमको गरिमा र सन्तोषको दुर्लभ सम्पत्ति छ। त्यही सम्पत्तिले डडेलधुराका पहाडहरूलाई सुन्दर मात्र होइन, प्रेरणादायी पनि बनाएको छ।

    डडेलधुरा पुगेपछि केहीबेर विश्राम गरियो। चियाको कप हातमा थियो। वरिपरि कुहिरो विस्तारै उक्लँदै थियो। बजार सानो थियो। तर आत्मीय थियो। अपरिचित मानिसहरूको मुस्कानले पनि यात्रुका लागि घरको अनुभूति दिन्थ्यो।

    सायद पहाडमा मानिसहरू घरभन्दा पहिले मन खोल्न सिक्छन्। डडेलधुराबाट बैतडीतर्फ लागेपछि यात्राले अर्को रूप लियो। सडक अझ घुमाउरो भयो। पहाडहरू अझ अग्ला भए। खोँचहरू अझ गहिरा भए। प्रकृति अझ मौन भइन्।

    यात्रा अब बाहिरभन्दा बढी भित्र भइरहेकी थिई।हावाले अनुहार छोइरहेको थियो।तर त्यसले मनका धुलो पनि पखालिरहेको जस्तो लाग्थ्यो।

    बाटोमा कतै महिलाहरू नाम्लोमा घाँस बोकेर फर्किरहेका थिए। कतै वृद्धहरू चौतारीमा बसेर जीवनका कथाहरू सुनाइरहेका थिए। कतै विद्यालयबाट फर्किरहेका बालबालिकाहरूको हाँसो डाँडाभरि गुन्जिरहेको थियो।

    यी दृश्यहरू सामान्य थिए।तर यिनै सामान्यताभित्र जीवनको असाधारण सौन्दर्य लुकेको थियो।

    बैतडी पुगेर मैले कुनै नयाँ संसार देखिनँ। आफ्नै संसारलाई नयाँ आँखाले हेर्न सिकेँ। यहाँका पहाडहरूले मौनताको भाषा सिकाए। महाकालीले निरन्तर बगिरहनुको साहस सिकाइन्। चार केदारका शिखरहरूले आस्थाको अर्थ मन्दिरका भित्ताभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ भन्ने अनुभूति गराए। यहाँ प्रकृति दृश्य होइन। दर्शन हो। संस्कृति परम्परा होइन जीवनको निरन्तरता हो। र मानिस केवल समय र प्रकृतिबीचको एउटा क्षणिक सेतु हो।

    अर्को बिहान म झुलाघाटतर्फ लागेँ। महाकाली नदी दुई देशको सीमारेखा भएर पनि विभाजनको प्रतीक लागिनन्। उनी त दुई किनारलाई जोड्ने आत्मीय संवाद थिइन्। झुलाघाटको झोलुङ्गे पुलमा उभिँदा हावाले पुललाई हल्का हल्लाइरहेको थियो। तल महाकाली अविरल बगिरहेकी थिइन्। पानीले कुनै सीमा मानेको थिएन। हावाले कुनै राहदानी बोकेको थिएन। चराहरूले कुनै नक्सा पढेका थिएनन्। प्रकृतिले फेरि सम्झाइन् सीमाहरू मानिसले बनाउँछ। विशालता प्रकृतिले।

    मैले पुलबाट अन्तिमपटक महाकालीलाई हेरिरहेँ। नदीको प्रवाहमा समय बगिरहेको थियो। लहरहरूमा इतिहास बोलिरहेको थियो। किनारका ढुङ्गाहरूमा सभ्यताका पदचिह्न सुरक्षित थिए। त्यही क्षण मैले महसुस गरेँ, यात्रा भनेको नयाँ ठाउँहरू देख्नु मात्र होइन, आफ्ना पुराना धारणाहरूलाई परिवर्तन गर्नु पनि रहेछ। प्रत्येक यात्रा एउटा नयाँ भूगोलको खोजीभन्दा बढी एउटा नयाँ चेतनाको जन्म हो।

    फर्किने बेला बाटो उही थियो। पहाड उही थिए। नदीहरू उही थिए। झरनाहरू उस्तै कलकलाइरहेका थिए। वनहरू उस्तै सुगन्धित थिए। परिवर्तन भएको थियो त केवल यात्रु। म हिँडेर बैतडी पुगेको थिएँ, तर फर्कँदा बैतडी मेरो भित्र बसिसकेको थियो।

    त्यसपछि मैले बुझें यात्राहरू कहिल्यै गन्तव्यमा समाप्त हुँदैनन्। तिनीहरू स्मृतिमा बाँचिरहन्छन्। विचारमा बगिरहन्छन्। जीवनका निर्णयहरूमा प्रतिध्वनित भइरहन्छन्। कुनै दिन फेरि महाकालीको जलध्वनि सम्झना आउनेछ। डडेलधुराका कुहिराले ढाकिएका डाँडाहरू आँखाभरि उभिनेछन्। चिसापानीको पुल, कर्णालीको विशालता, घोडाघोडीको मौन जल, बर्दियाको वन, चितवनको हरियाली र त्रिशूलीको अविरल प्रवाह सबै फेरि मनभित्र यात्रा गर्नेछन्।

    सायद यही कारण यात्राको वास्तविक अन्त्य हुँदैन।बाटो समाप्त हुन्छ।यात्रा होइन।किनकि यात्रा खुट्टाले तय गरेको दूरी होइन; आत्माले प्राप्त गरेको विस्तार हो।

    आज पनि जब आँखाहरू बन्द गर्छु, महाकालीको शीतल हावा अनुहारमा छुने गर्छ। केदारका शिखरहरू मौन ध्यानमा उभिएका देखिन्छन्। पहाडका गोरेटाहरूले फेरि बोलाउँछन्। अनि मनले निःशब्द स्वीकार गर्छ।केही ठाउँहरू केवल हेरेर फर्कनका लागि हुँदैनन्। तिनीहरू जीवनभर आफ्नो अन्तरात्मामा बोकेर हिँड्नका लागि हुन्छन्।

    बैतडी त्यस्तै एउटा भूमि हो, जहाँ प्रकृतिले प्रत्येक बिहान नयाँ दर्शन लेख्छ। महाकालीले समयको अनन्त गीत गाउँछ। केदारका शिखरहरूले मौन ध्यानमा आध्यात्मिकताको उज्यालो फैलाइरहन्छन् र पहाडहरूले धैर्य, श्रम तथा सहअस्तित्वको शाश्वत पाठ पढाइरहन्छन्। यहाँ यात्रु नयाँ दृश्यहरूको साक्षी बन्दैन। ऊ आफ्नै चेतनाको गहिराइसँग साक्षात्कार गर्छ। जब यात्रा समाप्त हुन्छ, बाटो पछाडि छुट्छ, तर बैतडी मनभित्र एउटा उज्यालो स्मृति, एउटा मौन प्रार्थना र एउटा जीवनदर्शन बनेर सधैँ बाँचिरहन्छ। त्यतिबेला थाहा हुन्छ यात्राको सबैभन्दा ठूलो उपलब्धि नयाँ ठाउँ भेट्नु होइन, आफ्नै भित्र लुकेको अझ उदार, अझ विनम्र र अझ जागृत मानिसलाई भेट्नु रहेछ।