सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण - Chaitanya News
  • 2026-06-12
  • 17:06:42
  • शुक्रबार,जेठ २९, २०८३
  • सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

    सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

    काठमाडौँ– सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय बासिन्दाले त्यसको प्रतिवाद गरेको घटनाप्रति सरकारको ध्यान जानुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले प्रश्न गरे, “नेपाल सरकार के हेरेर बसेको छ ?”

    प्रधानमन्त्री बालेन शाहले यसअघि नेपालले पनि भारतको केही भूभाग मिचेको अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै महरले सुस्तामा भारतीय सीमा सुरक्षा बलको प्रवेशबारे सरकारको स्पष्ट धारणा माग गरेका हुन्।

    यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई ९हर्क साम्पाङ० ले पनि उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भारतीय सशस्त्र सीमा बलका सदस्यहरूले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र त्यसको विरोधमा स्थानीय बासिन्दा उत्रिएको भिडियो सार्वजनिक भएको बताएका छन्।

    “सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइमाथि हप्कीदप्की गरेको र आफ्नो भूमिको रक्षाका लागि स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएको भिडियो सार्वजनिक भएको छ,” नेता साम्पाङले भने।

    उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउँदै रक्षा मन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग आग्रह गरे। “प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षा मन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदयले रुलिङ गरेर रक्षा मन्त्रीलाई सदनमा उपस्थित गराइदिनुपर्‍यो। हामी केही प्रश्न सोध्न चाहन्छौँ,” उनले भने।