काठमाडौँ– आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।
बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, “कुनैपनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ।”
यस्तै, सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसिंह नगरपालिका–५ निवासी ३० वर्षीय रेवन्त विष्ट काठमाडौँमा डेरा गरी बस्दै आएकामा केही दिनदेखि बेपत्ता भएको बताए । उनले प्रहरीमा उजुरी दिँदा पनि खोजी नभएको उल्लेख गर्दै खोजी गर्न सरकारसमक्ष आग्रह गरे।
यसैगरी, सांसद साजिदा खातुन सिद्धिकाले बाल अधिकार संरक्षणमा सरकारको ध्यानाकर्षण गराइन्। सांसद राजेन्द्रकुमार राईले खेत रोप्ने बेलामा किसानले मल नपाएको बताए। सांसद रञ्जु न्यौपानेले पछिल्लो समय साइबर अपराध बढ्दै गएको भन्दै साइबर ब्यूरोलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरे।
सांसद निश्कल राईले चिया र सुपारीखेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले भने, “दूध किसानले दूधको मूल्य नपाएको ६ महिना भयो, दूधको मूल्य उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु।” सांसद जोककुमार बरबरिया यादवले जल, जमिन, जंगल र चुरे संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद क्षितिज थेबेले सरकारले ताप्लेजुङको फुङ्लिङ बजार र सुकेटार सडक खण्डमा पर्ने घर घहरा अटाउने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै टहरामा बस्दै आएकाहरूको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए।
सांसद मोहम्मद फिरदोश आलमले बिहीबार बिहान रौतहटका दीपनारायण राउतकी श्रीमतीको अज्ञात समूहले हत्या गरेको उल्लेख गर्दै दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरे।