दक्षिण कोरियाको चेक रिपब्लिकमाथि २–१ को जित - Chaitanya News
  • 2026-06-12
  • 12:32:22
  • शुक्रबार,जेठ २९, २०८३
  • दक्षिण कोरियाको चेक रिपब्लिकमाथि २–१ को जित

    दक्षिण कोरियाको चेक रिपब्लिकमाथि २–१ को जित

    काठमाडौं– दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ।

    मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो।

    दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो। १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो।

    ५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। तर, अग्रता जोगाउन सकेन। त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो। ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए।

    खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए। तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन।

    ८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो। ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो।

    समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ। समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ।

    अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन्।