कांग्रेसको प्रश्न: अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन ? - Chaitanya News
  • 2026-06-10
  • 18:27:52
  • बुधबार,जेठ २७, २०८३
  • कांग्रेसको प्रश्न: अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन ?

    कांग्रेसको प्रश्न: अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठ्यो, सबै बरफ किन ?

    काठमाडौं– नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको बताएको छ। तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरेको छ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्कै रोष्ट्रमबाट भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो। सबै बरफ किन ?

    अर्थमन्त्री वाग्ले करका दर हेरफेर विवादमा परेका छन्।

    आर्थिक विधेयकमा भएको हेरफेर र करका दरको हेरफेरको सूचना चुहावट भएको विषयमा वाग्ले आफैँ भने पन्छिन खोजिरहेका छन्।

    अर्थमन्त्री डा. वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ १५ गते आर्थिक विधेयक पेस गरेका थिए। उक्त विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको भन्दै जेठ १७ गते उक्त त्रुटिहरू सच्याउन संसद् सचिवालयमा निवेदन दिएका थिए।

    तर, विधेयक संसद्‌मा अगाडि बढ्ने प्रक्रियासम्बन्धी छुट्टै व्यवस्था छ। विधेयकमा संशोधन गर्ने प्रक्रियासम्बनधी प्रक्रिया प्रतिनिधिसभा नियमावलीको परिच्छेद १५ मा छ।

    जस अन्तर्गत विधेयक अगाडि बढाउन विधेयक प्रस्तुत गर्ने अनुमतिका लागि सूचना दिनुपर्छ। विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमै सांसदहरूले विरोधको सूचना दिन सक्छन् । त्यस्तो सूचनाउपर सभाले निर्णय लिन्छ।

    त्यसपछि सभामा विधेयकमाथि सामान्य छलफल हुन्छ। सामान्य छलफल समाप्त भएपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुन्छ । यस्तो प्रस्ताव सभाले स्वीकृत गरेपछि सांसदहरूले संशोधन प्रस्ताव दर्ताका लागि समय पाउँछन्।

    ‘विधेयकमा संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनसहितको सूचना सचिवलाई दिनुपर्नेछ’ नियमावलीको नियम ११२ मा छ।

    यी प्रक्रिया सभामा अगाडि बढेकै छैन। सांसदहरूले संशोधनका लागि प्रस्ताव पेस गर्ने समय पाउने अवस्थामा विधेयक पुगेकै छैन।

    यो प्रक्रिया सुरु नहुँदै अर्थमन्त्रीले पाँच बुँदे त्रुटि सुधार भनेर संसद् सचिवालयमा पत्र पठाएको भनेर विपक्षी दलहरूले प्रश्न उठाएका छन्।

    त्रुटि सुधारको विधि र प्रक्रिया अनुसार भयो वा भएन वा ५ बुँदे त्रुटि सुधारको कानुनी आधार के हो ? कुन कानुन अनुसार त्रुटि सुधारको पत्र संसद् सचिवालयमा पठाएको हो ? यसबारे अर्थमन्त्री वाग्लेले कुनै जवाफ दिएका छैनन्।

    यही सन्दर्भमा कांग्रेस नेता आङ्देम्बेले अर्थमन्त्रीकोबारे गम्भीर प्रश्नमा सबै बरफ किन भनेर प्रश्न गरेका हुन्।