संसद् गतिरोध समाधानमा सहमति जुटेन, सभामुख र विपक्षी दलबीच सहमति खोज्ने प्रयास भए पनि प्रारम्भिक चरणमै मतभेद - Chaitanya News
  • 2026-06-10
  • 16:42:41
  • बुधबार,जेठ २७, २०८३
  • संसद् गतिरोध समाधानमा सहमति जुटेन, सभामुख र विपक्षी दलबीच सहमति खोज्ने प्रयास भए पनि प्रारम्भिक चरणमै मतभेद

    संसद् गतिरोध समाधानमा सहमति जुटेन, सभामुख र विपक्षी दलबीच सहमति खोज्ने प्रयास भए पनि प्रारम्भिक चरणमै मतभेद

    काठमाडौँ– संसद् सञ्चालनमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद अर्याल र विपक्षी दलका नेताहरूबीच छलफल भइरहेको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी उक्त छलफलमा सहमति खोज्ने प्रयास भए पनि प्रारम्भिक चरणमै मतभेद देखिएको छ।

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको अघिल्लो छलफलमा ठोस सहमति जुट्न नसकेपछि अहिले सभामुखसँग पुनः वार्ता अघि बढाइएको हो।

    यसअघि करिब दुई घण्टासम्म चलेको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले सीमा विषयमा दिएको भनिएको अभिव्यक्तिको विषयमा परराष्ट्रमन्त्रीमार्फत लिखित रूपमा स्पष्टता आए संसद् अवरोध हटाउन सकिने धारणा राखेका थिए।

    तर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीले आफ्नै जिम्मेवारीमा विषय स्पष्ट गर्नुपर्ने अडान राखेपछि सहमति बन्न नसकेको बताइएको छ। यही असहमतिको कारण प्रतिनिधिसभा बैठक निर्धारित समयमा सञ्चालन हुन सकेको छैन।

    बिहान ११ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरी अपराह्न २ बजे सारिएको भए पनि त्यसपछिको बैठक पनि समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन।