एन्फामाथिको हस्तक्षेप नरोके नेपाल फुटबल निलम्बनमा पर्ने चेतावनी - Chaitanya News
  • 2026-06-10
  • 15:17:04
  • बुधबार,जेठ २७, २०८३
  • एन्फामाथिको हस्तक्षेप नरोके नेपाल फुटबल निलम्बनमा पर्ने चेतावनी

    एन्फामाथिको हस्तक्षेप नरोके नेपाल फुटबल निलम्बनमा पर्ने चेतावनी

    काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) र एसियाली फुटबल महासंघ (AFC) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को कामकारबाहीमा भइरहेको बाह्य हस्तक्षेप तत्काल अन्त्य गर्न नेपाल सरकारलाई कडा चेतावनी दिएका छन्। हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट निलम्बन गरिने उनीहरूको स्पष्ट सन्देश छ।

    एन्फाले पाँच दिनअघि, जुन ५ मा प्राप्त गरेको र हालै सार्वजनिक गरेको फिफा–एएफसीको संयुक्त पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि यसअघि चैत १२ गते (मार्च २५) जारी गरेका अन्य निर्णयहरू अझै फिर्ता नलिएको उल्लेख गरिएको छ।

    राखेपले एन्फालाई निर्वाचन प्रक्रिया रोक्न, विधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूको निर्वाचन सञ्चालन गर्न दिएको निर्देशनलाई फिफा र एएफसीले फुटबल प्रशासनमा ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ का रूपमा व्याख्या गरेका छन्।

    फिफा र एएफसीले एन्फाका महासचिव किरण राईमार्फत राखेपलाई आगामी जेठ २८ गतेभित्र चैत १२ गतेको निर्णय पूर्ण रूपमा खारेज गरिएको लिखित प्रतिबद्धता उपलब्ध गराउन आग्रह गरेका छन्।

    पत्रमा तोकिएको समयसीमाभित्र सन्तोषजनक जवाफ प्राप्त नभए नेपालमाथि निलम्बनको सिफारिस गर्दै विषयलाई फिफा काउन्सिलसमक्ष लैजाने चेतावनी दिइएको छ।

    फिफा र एएफसीको यो कदमले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिम बढाएको छ।