बजेट चुहावटको आरोप असत्य, तथ्यबिना अफवाह फैलाइयोः अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-08-01
  • 20:27:07
  • शनिबार,साउन १६, २०८३
  • बजेट चुहावटको आरोप असत्य, तथ्यबिना अफवाह फैलाइयोः अर्थमन्त्री वाग्ले

    बजेट चुहावटको आरोप असत्य, तथ्यबिना अफवाह फैलाइयोः अर्थमन्त्री वाग्ले

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि सूचना चुहावट भएको र त्यसका आधारमा अनियमितता गरिएको भन्ने आरोपलाई पूर्णतः निराधार बताएका छन्।

    प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बुधबार बसेको बैठकमा बजेटका प्रमुख व्यवस्थाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रस्तावित करका दरसम्बन्धी सूचना चुहावट भएर जेठ १४ गते बीवाइडी (BYD) गाडी आयात गरिएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारे।

    आफूविरुद्ध योजनाबद्ध रूपमा अफवाह फैलाइएको दाबी गर्दै मन्त्री वाग्लेले बजेट वक्तव्यमा समावेश भएका केही विषय आर्थिक विधेयकमा छुटेकाले मात्र आवश्यक संशोधन गरिएको बताए। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने उद्देश्यले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गरिएको उनको भनाइ थियो।

    “देखिएका त्रुटि सच्याएर सार्वभौम संसद्को हातमा विधेयक पुगेपछि कुनै परिवर्तन गरिएको छैन। प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे संगठित रूपमा अफवाह फैलाइयो र बदनाम गर्ने प्रयास गरियो,” उनले भने, “सुशासनका लागि दृढतापूर्वक अघि बढेको सरकारको छवि धुमिल्याउन गरिएका यस्ता प्रहारको भ्रममा सांसदहरू पर्नु हुँदैन।”

    बैठकमा समितिकी सदस्य लीमा अधिकारीले बजेटलाई ऐतिहासिक र रूपान्तरणकारी दस्तावेजको संज्ञा दिँदै अर्थमन्त्रीको जवाफबाट धेरै विषय स्पष्ट भएको बताइन्।

    यस्तै, समितिका सदस्य नरेन्द्रकुमार केरुङले विगतका सरकारले केही काम नगरेको जस्तो भाष्य निर्माण गर्नु उचित नहुने धारणा राखे।