काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १३.३ प्रतिशत रहेको थियो। यसपटकको उच्च वृद्धिले विप्रेषण आप्रवाह विस्तारको गति उल्लेखनीय रूपमा बढेको देखाएको छ।
राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो रकम १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा डलरमा प्राप्त रेमिट्यान्स ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा यसको वृद्धिदर १०.६ प्रतिशत थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको समान अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
वैदेशिक रोजगारीसँग सम्बन्धित सूचकहरूले पनि श्रम बजारको अवस्था झल्काएका छन्। साउनदेखि वैशाखसम्म संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट अन्तिम श्रम स्वीकृति लिने नयाँ कामदारको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ।
तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको थियो।