काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन्।
आज (मंगलबार) स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा बोल्दै उनले सो घोषणा गरेका हुन् । यस्तै उनले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने १० वर्षे कार्य योजना बनाइएको उल्लेख गरे।
मन्त्री यादवले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सँगै प्रविधिमा आएको परिवर्तन, जलवायु परिवर्तन र श्रम गतिशीलताका कारण विश्वव्यापी श्रम बजारमा नयाँ चुनौती थपिएको बताए। उचित योजना नभएमा यी परिवर्तनहरूले असमानता र सीपको खाडल बढाउन सक्ने जोखिम औँल्याउँदै उनले मानवीय मर्यादा र सामाजिक न्याय सुनिश्चित गर्न प्रभावकारी त्रिपक्षीय सहयोग र आइएलओको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
डिजिटल अर्थतन्त्र र युवा स्वरोजगारका लागि नेपालले प्रविधि र नीतिगत सुधारमार्फत स्वदेशमै रोजगारी दिने लक्ष्य राखेको मन्त्री यादवको भनाइ थियो । सरकारले एआई पूर्वाधार, डिजिटल ‘स्टार्टअप’ र ‘रिमोट वर्क’लाई प्रवर्द्धन गर्न लगानी गरिरहेको जानकारी दिए । उनले ‘गिग इकोनोमी’ र डिजिटल माध्यमबाट हुने कामका लागि स्पष्ट सम्झौता, डेटा गोपनीयता र व्यावसायिक सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डको आवश्यकता रहेकोसमेत उल्लेख गरे।