म्याग्दी– म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित यस आयोजनाको सुरुङ निर्माण कार्य अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी थालिएको हो।
आयोजनाका निर्देशक रमण सिंहका अनुसार आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माणका लागि बाँध, गाडपार र घरापस्थित विद्युत् गृह क्षेत्रसहित चार स्थानबाट एकसाथ काम अघि बढाइने तयारी गरिएको छ।
उनले विद्युत् गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेको जानकारी दिए। आयोजनाअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत् गृह निर्माण गरिनेछ।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ भने विद्युत् गृहदेखि आउटलेटसम्मको उचाइ अन्तर ४८० मिटर हुनेछ। आयोजनास्थलमा प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी र नेपाली सेनाका लागि कार्यालय, आवास तथा विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
हालसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ। आयोजनास्थल पुग्न गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्ने भएका छन्। आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको छ।
आयोजना निर्माणको शुभारम्भ अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामी, स्थानीय जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा–आराधना गरी गरिएको थियो।
वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज आयोजना म्याग्दी जिल्लाको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ क्षेत्रका नदीहरूमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्।
सञ्चालनमा रहेका आयोजनामध्ये पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ तथा छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना रहेका छन्।
यस्तै, नारच्याङको सीमावर्ती क्षेत्रमा बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकाल गण्डकी जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ।