‘देशभर २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि स्रोत अभाव छ’ : आइजिपी कार्की - Chaitanya News
  • 2026-06-08
  • 18:35:22
  • सोमबार,जेठ २५, २०८३
  • ‘देशभर २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि स्रोत अभाव छ’ : आइजिपी कार्की

    ‘देशभर २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि स्रोत अभाव छ’ : आइजिपी कार्की

    काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको बताउका छन्।

    आज (सोमबार) राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको र ती संरचनाहरूको पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक बजेट उपलब्ध नभएको गुनासो गरेका हुन्।

    महानिरीक्षक कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका धेरै प्रहरी चौकी जोखिमपूर्ण अवस्थामा पुगेका छन्, जसका कारण प्रहरी कर्मचारीहरू असुरक्षित संरचनाभित्र काम गर्न बाध्य छन्।

    उनले कतिपय चौकी यति जीर्ण भइसकेका छन् कि जुनसुकै बेला भत्किन सक्ने अवस्थाले सुरक्षाकर्मीहरू चिन्तित रहनुपर्ने स्थिति बनेको बताए। उनका अनुसार हाल देशभर २६३ वटा स्थायी चौकी अत्यन्त खराब अवस्थामा छन् भने अस्थायी चौकीहरूको त विस्तृत तथ्यांक समेत उपलब्ध छैन।

    कार्कीले स्थानीय तह र संघीय मामिला अन्तर्गत समन्वय गरेर जीर्ण प्रहरी चौकीहरूको पुनर्निर्माण गर्न सके प्रहरी कर्मचारीलाई ड्युटीपछि न्यूनतम मानवीय सुविधा उपलब्ध गराउन सकिने बताए। उनले प्रहरीलाई कामसँगै सुरक्षित आवासीय वातावरण आवश्यक रहेकोमा जोड दिए।

    उनका अनुसार अस्थायी प्रहरी चौकीहरू आवश्यकताको आधारमा संवेदनशील क्षेत्रमा स्थापना गरिए पनि ती संरचनाले दीर्घकालीन समाधान नदिने भएकाले तिनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ। त्यसका लागि पर्याप्त बजेट विनियोजन अनिवार्य हुने उनले उल्लेख गरे।

    महानिरीक्षक कार्कीले भवन निर्माणदेखि आवश्यक लजिस्टिक व्यवस्थापनसम्मका लागि वित्तीय स्रोत अपरिहार्य रहेको भन्दै राज्यस्तरीय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।