लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि हो,नेपाललाई बाहिर राखेर भारत–चीनबीच भएको कुनै पनि सहमति मान्य हुँदैन : परराष्ट्रमन्त्री खनाल - Chaitanya News
  • 2026-06-07
  • 15:40:58
  • आइतबार,जेठ २४, २०८३
  • लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि हो,नेपाललाई बाहिर राखेर भारत–चीनबीच भएको कुनै पनि सहमति मान्य हुँदैन : परराष्ट्रमन्त्री खनाल

    लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि हो,नेपाललाई बाहिर राखेर भारत–चीनबीच भएको कुनै पनि सहमति मान्य हुँदैन : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक–लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि भएकाले नेपाललाई बाहिर राखेर भारत र चीनबीच हुने कुनै पनि सहमति स्वीकार्य नहुने बताएका छन्।

    भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालको सीमा सम्बन्धी विषय द्विपक्षीय कूटनीतिक प्रक्रियामार्फत मात्र समाधान हुनुपर्ने बताएका हुन्।

    उनले प्रधानमन्त्रीले सीमा विवादमा तेस्रो पक्षको मध्यस्थता खोजेको भन्ने धारणा गलत भएको स्पष्ट पार्दै नेपालले आफ्नो ऐतिहासिक दाबीका आधारमा सम्बन्धित दुवै देशलाई निरन्तर कूटनीतिक माध्यमबाट जानकारी गराउँदै आएको बताए। नेपालको भूमि सम्बन्धी अडान स्पष्ट रहेको उल्लेख गर्दै उनले सीमा विवाद समाधानका लागि संवाद र कूटनीतिक संयन्त्र नै उपयुक्त माध्यम भएको बताए।

    परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा विवाद १८१६ को सुगौली सन्धि तथा ऐतिहासिक दस्तावेजसँग जोडिएको विषय भएको उल्लेख गरे। आवश्यक प्रमाण संकलनका लागि अन्तर्राष्ट्रिय अभिलेखालय तथा पुस्तकालयको अध्ययन आवश्यक पर्न सक्ने भए पनि त्यसलाई मध्यस्थताको प्रयासका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।

    इपिजी (Eminent Persons Group) प्रतिवेदनबारे उठेका प्रश्नमा उनले उक्त प्रतिवेदन नेपाल र भारतका प्रधानमन्त्रीहरूको सहमतिमा तयार भएको र सोही तहमा मात्र बुझाउने व्यवस्था रहेकाले आफूलाई त्यसलाई सार्वजनिक गर्ने वा कार्यान्वयन गर्ने अधिकार नरहेको बताए। भविष्यमा दुवै पक्षबीच सहमति भए सोही संयन्त्रमार्फत प्रक्रिया अगाडि बढ्न सक्ने उनले उल्लेख गरे।

    सरकार गठनपछि भएको आफ्नो पहिलो औपचारिक भारत भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नु रहेको बताउँदै मन्त्री खनालले बाँकी विषयहरू पनि संवाद र कूटनीतिक वार्तामार्फत समाधान गरिने बताए।

    कैलाश मानसरोवर यात्रासम्बन्धी प्रश्नमा उनले विभिन्न नाकामार्फत तीर्थयात्रा हुने प्रचलन रहेको र नेपाल भएर यात्रा गर्ने तीर्थयात्रीलाई सरकारले आवश्यक सहजीकरण गर्दै आएको जानकारी दिए। तर लिपुलेक–लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित भारत–चीनबीच हुने कुनै पनि नयाँ सम्झौता वा पुनःसम्झौता नेपालसँगको सहमतिबिना स्वीकार्य नहुने उनले पुनः दोहोर्‍याए।

    नेपालले यस विषयमा भारत र चीन दुवैलाई कूटनीतिक नोटमार्फत आफ्नो आधिकारिक धारणा जानकारी गराइसकेको पनि मन्त्री खनालले बताए।