काठमाडौँ– नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ।
यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए। त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए।
१४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए। अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो। अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षक लगायतका २ लाख जति सदस्य रहेको र अहिले त्यो घटेको सहमहामन्त्री रसाइलीले बताए।
सरकारले अब सरकारी कर्मचारी र शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि त्यति सङ्ख्या घट्ने निश्चित थियो। त्यो बाहेक पनि उल्लेख्य मात्रामा कांग्रेसका क्रियाशील सदस्यले सदस्यता अद्यावधिक नगरेका हुन्।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति बनाएको छ। त्यो समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि ‘डिजिटल्ली अद्यावधिक’ गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो। तर, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अद्यावधिक नगर्ने अडान लिइरहेको छ।
विशेष महाधिवेशन गर्नु अगाडि नै ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेका थिए। त्यो बेलामा पनि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रहेका रसाइलीले त्यो बेलामा ४ लाख ५० हजारले क्रियाशील सदस्यता नवीकरण गरेको अहिले अद्यावधिक गर्ने ३ लाख ७५ हजार रहेको जानकारी दिए।