काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ ऋण लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र बैंकहरूको कन्सोर्टियमबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापछि आयोजना निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।
करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुल लागतको ७५ प्रतिशत अर्थात् करिब १९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताले लगानी गर्नेछन्।
वित्तीय व्यवस्थापनका लागि भएको सम्झौतामा ग्लोबल आइएमई बैंकले नेतृत्व गरेको कन्सोर्टियममा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन्। कन्सोर्टियमअन्तर्गत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४–४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
सम्झौतापछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना समयमै सम्पन्न भई नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार तथा ऊर्जा निर्यात प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत प्रणालीमा थप १६६ मेगावाट विद्युत् थपिनेछ, जसले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।