आज सेयर बजार २.६६ अंकले बढ्यो, चम्कियो निर्जीवन बीमा - Chaitanya News
  • 2026-06-03
  • 16:31:06
  • बुधबार,जेठ २०, २०८३
  • आज सेयर बजार २.६६ अंकले बढ्यो, चम्कियो निर्जीवन बीमा

    आज सेयर बजार २.६६ अंकले बढ्यो, चम्कियो निर्जीवन बीमा

    काठमाडौं– आज (बुधबार) सेयर बजार २.६६ अंकले बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ। बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो।

    १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो। कारोबार रकम बढेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो।

    अघिल्लो दिन फाइनान्स समूहमा आकर्षण देखिएको थियो। सो समूह अघिल्लो दिन सबैभन्दा धेरै ६ प्रतिशत बढेको थियो। आज भने निर्जीवन बीमा समूहमा आकर्षण देखियो । यो समूह आज ३.३७ प्रतिशत बढ्यो। आजको वृद्धिपछि निर्जीवन बीमा समूह वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ।

    बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाएर १० लाख पुर्‍याएको छ, जसले निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्न मद्दत पुग्ने भएकाले पनि आकर्षण बढेको हो।

    त्यस्तै जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढे। अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशत घट्यो। त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ तथा बैंकिङ ०.१३ प्रतिशत घटे।

    कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो। त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत बढ्यो। विजय लघुवित्तको ८.७३, सयपत्रि हाइड्रोपावरको ७.०५ तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशत मूल्य बढ्यो।

    नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशत घट्यो। सेन्ट्रल फाइनान्सको ३.४८, हिमालयन रिइन्स्योरेन्सको ३.३९ तथा त्रिशूली जलविद्युतको मूल्य ३.३९ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन्।