कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छः देउवा - Chaitanya News
  • 2026-05-01
  • 14:17:00
  • शुक्रबार,बैशाख १८, २०८३
  • कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छः देउवा

    कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छः   देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन्।

    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्।

    प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु,’ देउवाले भने, ‘तपाईंहरु ५ वर्षीय कार्यकालमा देश र जनताको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकाल पूर्ण सफलताको शुभकमना व्यक्त गर्दछु। तपाईंहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।’

    उनले कांग्रेसले प्रतिनिधिसभामा जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुने पनि बताए। उनले सम्बोधनका क्रममा आफूसँग सहकार्य तोडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई पनि बधाई दिएका छन्।

    ‘यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकतावद्ध, जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुनेछ,’ देउवाले भने, ‘जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ।’

    देउवाले आफु नेतृत्वको सरकारले सफलतापुर्वक स्थानीय तह र संसदीय निर्वाचन सम्पन्न गरेको बताएका छन् ।संसदको बैठकलाई सम्बोधन गर्दै देउवाले भयरहित निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको बताउदै निर्वाचन सम्पन्न गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

    सभापति देउवाले जनताले यस संसदबाट ठुलो अपेक्षा रहेको भन्दै सबै सांसदहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

    सभापति देउवाले आम निर्वाचनमा कांग्रेसलाई ठुलो दल बनाएकोमा सबै मतदातालाई धन्यवाद समेत दिएका छन् । साथै देउवा यस संसदमा रचनात्मक प्रतिपक्षको रुपमा काम गर्ने बताउदै कांग्रेस जिम्मेवार रुपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।