काठमाडौँ– जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनाइएको समितिको कार्यअवधि थप गरिएको छ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिलाई थप ४५ दिन समय उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
सरकारी निर्णयअनुसार २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा देखिएका घटनासम्बन्धी जाँचबुझ आयोग प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रका विषयमा विस्तृत अध्ययन गरी आवश्यक सिफारिस प्रस्तुत गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।
यसअघि उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन्।
गत वैशाख २ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गठन भएको उक्त समितिले प्रारम्भिक अध्ययन कार्य अघि बढाइरहेको अवस्थामा थप समय प्रदान गरिएको हो।