काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटलाई मात्र आधार मानेर आर्थिक वृद्धिदर हासिल हुने भन्ने धारणा सही नभएको बताएका छन्। उनका अनुसार समग्र अर्थतन्त्रको विस्तारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको हो।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको अर्थतन्त्रको आकार करिब ७० खर्ब रुपैयाँ रहेको उल्लेख गर्दै विकासको लक्ष्य केवल बजेट खर्चसँग मात्र सीमित नरहेको बताए। सरकारले अर्थतन्त्रलाई समग्र रूपमा विस्तार गर्ने रणनीतिमा ध्यान केन्द्रित गरेको उनले स्पष्ट पारे।
उनले २० खर्ब रुपैयाँको बजेट कार्यान्वयनबाट मात्र ७ प्रतिशत आर्थिक वृद्धि सुनिश्चित हुने बुझाइ गलत रहेको भन्दै यस्तो भ्रमबाट बाहिर आउनुपर्ने आवश्यकता औँल्याए। आर्थिक विस्तार बहु आयामिक प्रक्रिया भएको उनको भनाइ थियो।
मन्त्री वाग्लेले पूर्वाधार, ऊर्जा, शान्ति(सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत संरचनाको सुदृढीकरणले निजी क्षेत्रको विश्वास बढाउने र त्यसले लगानी विस्तार तथा आर्थिक गतिविधिमा तीव्रता ल्याउने अपेक्षा सरकारको रहेको बताए।
उनका अनुसार आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई करिब ७० खर्बबाट विस्तार गरी १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य लिइएको छ। यसमा सरकारी लगानी सहयोगी भूमिकामा रहने उनले प्रस्ट पारे।
मन्त्री वाग्लेले राज्य सबै क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न हुने परम्परागत मोडलभन्दा बाहिर निस्कँदै नियामक र सक्षम राज्यको अवधारणालाई प्राथमिकता दिइएको पनि बताए।