काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विभिन्न समयावधिमा सरकारलाई प्राप्त भएका आन्दोलन, प्रदर्शन तथा अन्य घटनासम्बन्धी प्रतिवेदनहरूको समग्र अध्ययन गरिने बताएका छन्।
आज (आइतबार) प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार कुनै एक प्रतिवेदनमा मात्र सीमित नरही विगतमा पेश भएका सबै प्रतिवेदनहरूको एकीकृत रूपमा समीक्षा गर्ने तयारीमा रहेको जानकारी दिए।
प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी ले जेन जेड आन्दोलनसम्बन्धी प्रतिवेदनका विषयमा जिज्ञासा राखेपछि प्रधानमन्त्री शाहले सरकारको धारणा स्पष्ट पारेका हुन्।
प्रधानमन्त्रीका अनुसार नेपाल सरकारसमक्ष विभिन्न कालखण्डमा भएका आन्दोलन, र्याली तथा अन्य सार्वजनिक गतिविधिसँग सम्बन्धित अनेकौँ प्रतिवेदन उपलब्ध छन्। ती सबै दस्ताबेजको अध्ययनपछि आवश्यक ठहरिएका विषयमा सरकारले कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने उनले बताए।
उनले राष्ट्रिय मानव अधिकार आयोग बाट प्राप्त प्रतिवेदन मात्र नभई अन्य निकाय वा घटनासम्बन्धी प्रतिवेदनहरू पनि सरकारको अध्ययनको दायरामा रहने उल्लेख गरे। सरकारको निर्णय प्रक्रिया उपलब्ध प्रतिवेदनहरूको समग्र मूल्याङ्कनका आधारमा अघि बढ्ने उनको भनाइ थियो।