काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको बढ्दो प्रयोगले विशेषगरी बालबालिका, किशोरकिशोरी र युवापुस्ताको स्वास्थ्यमा गम्भीर खतरा सिर्जना गरिरहेको भन्दै विश्व समुदायलाई सचेत गराएको छ।
विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवसको अवसरमा डब्ल्युएचओले सार्वजनिक गरेको विवरणअनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य नयाँ निकोटिनजन्य उत्पादनको प्रयोग युवामाझ तीव्र रूपमा फैलिरहेको छ। आकर्षक प्याकेजिङ, विभिन्न स्वाद र सामाजिक सञ्जालमार्फत गरिने प्रचारका कारण नयाँ पुस्ता निकोटिनको लतमा फस्दै गएको सङ्गठनले जनाएको छ।
डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिस कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। त्यसमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकमा बसोबास गर्ने नागरिक छन्। सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भने करिब १२ लाख मानिस निष्क्रिय धूमपानका कारण ज्यान गुमाउने गरेका छन्।
सङ्गठनले विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब ३ करोड ७० लाख बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको उल्लेख गरेको छ। साथै, १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ, जसको लोकप्रियता किशोर उमेर समूहमा झन् तीव्र रूपमा बढिरहेको छ।
डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगका अनुसार सुर्ती तथा निकोटिन उद्योगहरूले आफ्नो व्यापार विस्तारका लागि युवापुस्तालाई लक्षित गर्दै नयाँ–नयाँ उत्पादन बजारमा ल्याइरहेका छन्। उनले यी उत्पादनलाई आकर्षक र प्रयोग गर्न सहज बनाइएकाले युवा वर्ग छिट्टै लतमा पर्ने जोखिम बढेको बताए।
डब्ल्युएचओले निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएकाले मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा किशोरकिशोरीमा यसको असर अझ गम्भीर हुने चेतावनी दिएको छ। हाल विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नरहेकाले यसको प्रयोग र बिक्री नियन्त्रणमा चुनौती देखिएको सङ्गठनको भनाइ छ।
यही सन्दर्भमा डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रवर्द्धन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
सङ्गठनले निकोटिन तथा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा प्रभावकारी कदम नचालिए भावी पुस्ताको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने चेतावनी दिँदै स्वस्थ समाज निर्माणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको जनाएको छ।