काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिस गरेको छ।
आयोगले आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी घटनामा अध्यक्ष कार्कीको कुनै संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएको हो। साथै, उनको सार्वजनिक अभिव्यक्तिका कारण प्रदर्शनकारीहरू उत्तेजित भएको वा त्यसले घटनाक्रममा प्रभाव पारेको हो कि होइन भन्ने विषयमा पनि छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगका अनुसार सार्वजनिक शान्ति र सुव्यवस्था भंग हुने कुनै गतिविधिमा कार्की वा अन्य व्यक्तिहरूको भूमिका रहे–नरहेको, वा त्यस्ता गतिविधि गर्न दुरुत्साहन भएको हो कि होइन भन्ने पक्षमा सूक्ष्म अनुसन्धान आवश्यक छ। दोषी ठहर भए कानुनी कारवाही अघि बढाउन पनि सिफारिस गरिएको छ।
जेन जेड आन्दोलनका क्रममा सामाजिक सञ्जालमा कार्कीका केही अभिव्यक्ति भड्काउ प्रकृतिका रहेको भन्दै आलोचना भएको थियो।