नेपालमा हाल १ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात - Chaitanya News
  • 2026-05-27
  • 15:21:39
  • बुधबार,जेठ १३, २०८३
  • नेपालमा हाल १ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात

    नेपालमा हाल १ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात

    काठमाडौँ– नेपालमा हाल करिब १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारले जनाएको छ।

    कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कुल ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ। सोमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री वितरण गरिसकिएको उनले जानकारी दिइन्।

    प्रतिनिधि सभा बैठकमा जानकारी दिँदै मन्त्री चौधरीले गोदाममा रहेको, देशभित्र भित्रिसकेको तथा गोदाममा अभिलेख प्रक्रियामा रहेको परिमाण जोड्दा हाल कुल मौज्दात १ लाख ४४ हजार ५८५ मेट्रिक टन पुगेको स्पष्ट पारेकी हुन्।

    उनका अनुसार चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमार्फत उपलब्ध गराउने सरकारी लक्ष्य रहेको छ।

    मन्त्री चौधरीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण मल आपूर्तिमा समेत असर परेको उल्लेख गर्दै मध्यपूर्वमा देखिएको द्वन्द्वले आपूर्ति प्रणाली प्रभावित भएको बताइन्। उनका अनुसार हालसम्म १ लाख ८७ हजार मेट्रिक टन मल आयात हुन बाँकी रहेको छ।

    त्यसैगरी भारतसँग सरकारी(सरकारी ९जिटुजी० प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्ने विषय मन्त्रिपरिषद्को स्वीकृतिपछि अघि बढाइएको पनि उनले संसद्लाई जानकारी गराएकी छन्।