अमेरिकन आर्मी बनेर फेसबुकमार्फत् ठगी गरेको आरोपमा दुई जना पक्राउ - Chaitanya News
  • 2026-05-08
  • 19:00:24
  • शुक्रबार,बैशाख २५, २०८३
  • अमेरिकन आर्मी बनेर फेसबुकमार्फत् ठगी गरेको आरोपमा दुई जना पक्राउ

    अमेरिकन आर्मी बनेर फेसबुकमार्फत् ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं– अमेरिकन आर्मी बनेर फेसबुकमार्फत् ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–८ का ३७ वर्षीय बिममाया मगर र भारत दार्जेलिङका ४० वर्षीय मोहम्मद हाकिम छन्।

    उनीहरुलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइएको छ।

    उनीहरुले फेसबुकमा अपरिचित व्यक्तिलाई साथी बनाएर आफू अमेरिकन आर्मी रहेको हाल सिरियामा रहेको भन्दै परिचय दिएका थिए। त्यसपछि अमेरिकन डलरसमेत पठाइदिन्छु भन्दै त्यसको फोटासमेत पठाएका थिए।

    उपहार हो भन्ने पार्नका लागि त्यसको नक्कली भपाईसमेत उनीहरुले पीडितलाई पठाएका थिए। पीडितले तपाईंको उपहार मलाई आवश्यक छैन भनेपछि इन्टरनेसनल मनिटरी फण्ड (आईएमएफ) को फण्ड एप्रुभल सर्टिफिकेटको फोटो दुरुपयोग गरेकाले मनि लाउण्डरीङमा फसेको भन्दै धम्की दिएका थिए।

    त्यसबाट छुटकारा पाउन ह्वाट्स एप नम्बरमा आएको बैंक खातामा रकम जम्मा गर्न भन्दै रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको ब्यूरोका प्रवक्ता पशुपति रायले बताए।