‘वास्तविक र देखिने गरी जनताको जीवनस्तर सुधार सरकारको पहिलो प्राथमिकता” : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-05-26
  • 16:55:37
  • मंगलबार,जेठ १२, २०८३
  • ‘वास्तविक र देखिने गरी जनताको जीवनस्तर सुधार सरकारको पहिलो प्राथमिकता” : प्रधानमन्त्री शाह

    ‘वास्तविक र देखिने गरी जनताको जीवनस्तर सुधार सरकारको पहिलो प्राथमिकता” : प्रधानमन्त्री शाह

    काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको मुख्य लक्ष्य नेपाली नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने रहेको बताएका छन्। उनले जनताको अपेक्षाअनुसार सुशासन, आर्थिक समृद्धि र स्थिरतामार्फत परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ ९इयू० तथा सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटमा प्रधानमन्त्री शाहले नयाँ सरकार जनताको स्पष्ट जनादेशसहित आएको उल्लेख गर्दै नीतिगत स्थिरता कायम रहने बताए।

    उनले नयाँ नेतृत्व आएको भन्दै विगतका नीति र अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट अलग नहुने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य, राजनीतिक स्थायित्व र पारदर्शी शासन प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताए।

    प्रधानमन्त्री शाहका अनुसार सरकारले समावेशी आर्थिक विकासलाई केन्द्रमा राखेर लगानीमैत्री वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन तथा विश्व बजारसँगको पहुँच विस्तारमा ध्यान दिनेछ। उनले हरित ऊर्जा, पर्यटन, व्यापार र जलवायुका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाइने उल्लेख गरे।

    विदेश नीतिबारे प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक धारणा कायम राख्ने बताए। छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा हितमा आधारित रहने उनको भनाइ थियो।

    विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापनाका लागि संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार युद्ध र सैन्य टकरावले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पारिरहेको छ।

    भेटका क्रममा युरोपेली संघ तथा विभिन्न मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए। साथै, आर्थिक विकास र समृद्धिका विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी विस्तार गर्न आफूहरू सकारात्मक रहेको बताएका थिए।