कोशी प्रदेश सभाःनीति तथा कार्यक्रममाथि छलफल सुरु - Chaitanya News
  • 2026-05-24
  • 18:42:39
  • आइतबार,जेठ १०, २०८३
  • कोशी प्रदेश सभाःनीति तथा कार्यक्रममाथि छलफल सुरु

    कोशी प्रदेश सभाःनीति तथा कार्यक्रममाथि छलफल सुरु

    काठमाडौँ– कोशी प्रदेश सभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

    प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल प्रारम्भ भएको हो।

    छलफलमा कोशी प्रदेश सभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो रहे पनि यसमा समावेश गरिएका विषय वस्तु कार्यान्वयन योग्य नरहेको दाबी गरिन्।

    सदस्य राजेन्द्र कार्कीले नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिए पनि यसको कार्यान्वयनमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे।

    सदस्य गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम गौण रहनु दुःखद भएको बताए। सदस्य होमबहादुर थापाले सबै क्षेत्रलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेशको विकासमा मार्ग चित्रको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। सदस्य बाबुराम गौतमले सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याएको नीति तथा कार्यक्रमबाट अपेक्षित जनता लाभान्वित नहुने दाबी गरे।

    सदस्य राधकृष्ण खनालले सरकारले नीति तथा कार्यक्रमबाट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश बन्ने आशा जागेको धारणा राखे। सदस्य प्रेमराज थाम्साङले प्रदेशको पर्याप्त स्रोतसाधनको अभावमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषय वस्तु मनन गर्दा आमनागरिकको उज्वल भविष्य निर्धारण गर्न मद्दत पुग्ने टिप्पणी गरे।

    सदस्य जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री, प्रदेशको योजना, स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने धारणा राखे। सदस्य किशोरचन्द्र दुलालले सरकारको मार्गचित्र झल्काउने यो नीति तथा कार्यक्रमबाट बन्ने वार्षिक बजेटबाट सरकारको बाटो स्पष्ट गरेको छ।

    आजको बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत भएको छ।

    सभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्नेछ।