काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। त्यसैगरी कर्णाली प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि पनि सदस्य रहनेछन्।
नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। समितिलाई सीमा विवादसँग सम्बन्धित प्राविधिक पक्षको अध्ययन, तथ्य संकलन तथा प्रतिवेदन तयार गरी सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको जनाइएको छ।
बाजुरा(हुम्ला सीमा विवादबारे सघन छलफलपछि समिति गठन गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत लाम्पाटा क्षेत्रमा सीमा विवादलाई लिएर केही दिनअघि स्थानीयबीच कुटपिटको घटना भएको थियो। हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको लाम्पाटा क्षेत्रका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमांकनलाई लिएर लामो समयदेखि विवाद कायम रहेको जनाइएको छ।
पछिल्लो विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनमार्फत दृश्य संकलनका लागि पुगेपछि अवस्था तनावग्रस्त बनेको र स्थानीयबीच झडप भएको थियो।b