बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित - Chaitanya News
  • 2026-05-23
  • 17:38:08
  • शनिबार,जेठ ०९, २०८३
  • बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित

    बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित

    नेपालगञ्ज– बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चरक्क लागेको घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा यहाँका सडक सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उखुको जुस र लस्सी पिउने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो।

    जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको छ। यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उनले बताए।

    मौसम विभागका प्रमुख अवस्थीले आज साँझ ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमान गर्दै दिउँसो २ः०० देखि ५ः४५ बजेसम्मको तापक्रमलाई आधार मानी पूर्वानुमान गरिएको उनले जानकारी दिए। उनले बिहीबार यस वर्षको सबैभन्दा बढी ४१ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम पुगेको जनाउँदै जेठ ४ गते यतादेखि तापक्रम निरन्तर बढिरहेको बताए।

    प्रमुख अवस्थीले तातो दिन, अधिक तातो दिन र अत्यधिक तातो दिनका रूपमा तापक्रमअनुसार वर्गीकरण गरिने उल्लेख गर्दै कोहलपुरबाहेक राँझा विमानस्थल र खजुरा स्टेसनबाट लिइएको तापक्रमअनुसार निर्क्यौलमा पुगिने जानकारी दिए। “एक दिन गर्मी हुँदा अर्को दिन अलि कम हुने अवस्था पनि देखिएको छ तर गर्मी बढ्दै गएको छ”, उनले भने।

    गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा यस क्षेत्रका स्थानीयले सास्ती खेपिरहनुपरेको छ । विद्युत् आपूर्ति भए पनि कम ९लो० भोल्टेजका कारण घर तथा कार्यालयमा पङ्खा राम्ररी चल्न सकेका छैनन् भने पानी तान्ने मोटरलगायत उपकरण बिग्रिएका नेपालगञ्ज–९ का शिवदत्त भट्टले बताए । उनले विद्युत् आपूर्ति नियमित नहुँदा धेरै सास्ती झेल्नु परेको उल्लेख गर्दै बर्सेनि देखिने यस्तो समस्या शीघ्र समाधान गर्न आग्रह गरे ।

    विद्युत् प्राधिकरण केन्द्र नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्राले कोहलपुर ग्रिड शाखाबाट प्रसारण हुने विद्युत्मा लोड (भार) भएकाले त्यसको असर नेपालगञ्जको विद्युत् लाइनमा परेको जानकारी दिए । उनले भने, “व्यक्तिगत रूपमा दिनरात नियमित विद्युत् आपूर्तिको पक्षमा पहल गरिरहेको छु । तर कोहलपुर ग्रिड शाखाबाट सब स्टेसनमा वितरण हुने विद्युत् ‘लो भोल्टेज’को भएकाले समस्या देखिएको हो ।”

    इन्जिनियर मिश्राले कोहलपुर ग्रिडको १३२ः३३ केभी प्रसारण लाइनमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधानका लागि जानकीको बकसपुरमा निर्माणाधीन प्रसारण लाइनको काम सम्पन्न भएपछि हुने बताउँदै योसँगै नेपालगञ्जमा देखिएको विद्युत्को समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले यस क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन अहिलेसम्म आठ वटा विद्युत् ट्रान्सफर्मर परिवर्तन गरिएको जानकारी दिए। “जहाँ समस्या देखिएको छ, त्यहाँ नयाँ फिडरको व्यवस्था गरिएको छ”, उनले भने।