नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य, दीपेन्द्र र इशानको अर्धशतक - Chaitanya News
  • 2026-05-22
  • 15:20:09
  • शुक्रबार,जेठ ०८, २०८३
  • नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य, दीपेन्द्र र इशानको अर्धशतक

    नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य, दीपेन्द्र र इशानको अर्धशतक

    काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो। यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो।

    नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे। उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन्।

    उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे। कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए। त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए।

    कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए। आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए। उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे।

    बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिँदा मिलिन्द कुमार र रुशिल उगारकरले १–१ विकेट लिए।

    कीर्तिपुरमा भने नेपालको यो हालसम्मकै सर्वाधिक योगफल हो। यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमान विरुद्ध ३१० रनको योगफल बनाएको थियो।