काठमाडौँ– आज (शुक्रबार) देखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। खेल काठमाडौँमामा हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ।
पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ। जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसअघि समूह बी मा रहेका इरान र बंगलादेशबीच बिहान ११ बजे पहिलो खेल सुरु हुनेछ। दिउँसो २ बजे उद्घाटन समारोह हुने छ। उद्घाटन समारोहपछि दिउँसो साढे ३ बजे समूह ए मा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै दिनको तेस्रो खेल समूह ए कै दुई टोली किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे सुरु हुनेछ।
च्याम्पियनसिपमा समूह ए मा घरेलु टोली नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् भने समूह बी मा इरान,काजाखस्तान, श्रीलंका र बंगलादेश छन्।
च्याम्पियनसिपमा सुरुको चार दिन समूह चरणका खेलहरू हुनेछन्। हरेक दिन ३र३ खेल हुनेछ। समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। समूहमा तेस्रो र चौथो स्थानमा रहने टोलीले क्लासिफिकेसन म्याच खेल्नेछ।
समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह्य ए को उपविजेताबीच दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनल विजेता टोलीले जेठ १५ गते उपाधिका लागि खेल्नेछन्।
त्यसअघि समूह ए को तेस्रो र समूह बी को चौथो तथा समूह बी को तेस्रो र समूह ए को चौथो हुने टोलीबीच पनि खेल हुनेछ। यी दुवै खेलको विजेताबीच र पराजित हुने टोलीबीच पनि खेल हुनेछ। प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म कूल २० खेल हुनेछ।