प्रदेश १ मा सरकार गठनका लागि आज अन्तिम दिन - Chaitanya News
  • 2026-04-26
  • 16:20:27
  • आइतबार,बैशाख १३, २०८३
  • प्रदेश १ मा सरकार गठनका लागि आज अन्तिम दिन

    प्रदेश १ मा सरकार गठनका लागि आज अन्तिम दिन

    काठमाडौं – प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिनु भएको समय आइतबार साँझ ५ बजेबाट सकिँदैछ ।

    पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो ।

    गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले दाबी गर्दै आएका छन् ।

    ९३ सदस्यीय प्रदेश १ मा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि ४७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ ।