काठमाडौँ– गृह मन्त्रालयले प्रशासनिक संरचनामा फेरबदल गर्दै विभिन्न निकायमा कार्यरत सहसचिवलाई जिल्लाको नेतृत्वमा पठाएको छ।आजमंगलबार) गरिएको निर्णयअनुसार मन्त्रालयले अध्यागमन, कारागार तथा विमानस्थल कार्यालयमा कार्यरत उच्च अधिकारीलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारीसहित विभिन्न जिल्लामा खटाएको हो।
सरुवापछि जिल्ला प्रशासन कार्यालय भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दाङ र रुपन्देहीमा नयाँ सिडिओ आउने भएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार प्रशासनिक अनुभव भएका अधिकारीलाई जिल्लाको सुरक्षा तथा शान्ति व्यवस्थापनको नेतृत्वमा पठाउने उद्देश्यले सरुवा गरिएको हो ।
सरुवाअनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का अब भक्तपुरको जिम्मेवारीमा पुगेका छन् । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई ललितपुरको सिडिओ बनाइएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोक पठाइएको छ भने भैरहवा विमानस्थल कार्यालयमा कार्यरत निश्चल राज पाण्डेले अब दाङको प्रशासन सम्हाल्ने भएका छन् ।
यस्तै दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई रुपन्देही सरुवा गरिएको छ । रुपन्देहीका सिडिओ माधव प्रसाद पोखरेललाई भने कारागार व्यवस्थापन विभागमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको पछिल्लो निर्णयलाई जिल्लास्तरको प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ ।