सर्वोच्चको अन्तरिम आदेशः औषधि र व्यक्तिगत प्रयोगका सामानमा तत्काल भन्सार नलिनू, हेर्नुहोस् के–के सामान ल्याउँदा भन्सार नलिन भन्यो ? - Chaitanya News
  • 2026-05-17
  • 18:45:06
  • आइतबार,जेठ ०३, २०८३
  • सर्वोच्चको अन्तरिम आदेशः औषधि र व्यक्तिगत प्रयोगका सामानमा तत्काल भन्सार नलिनू, हेर्नुहोस् के–के सामान ल्याउँदा भन्सार नलिन भन्यो ?

    सर्वोच्चको अन्तरिम आदेशः औषधि र व्यक्तिगत प्रयोगका सामानमा तत्काल भन्सार नलिनू, हेर्नुहोस् के–के सामान ल्याउँदा भन्सार नलिन भन्यो ?

    काठमाडौँ– सर्वोच्च अदालतले सय रुपैयाँभन्दा माथिका सामानमा अनिवार्य भन्सार लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतले विशेषगरी व्यक्तिगत प्रयोगका अत्यावश्यक सामान, औषधिजन्य वस्तु र सामाजिक संस्कारका लागि आवश्यक न्यूनतम सामग्री ल्याउँदा सर्वसाधारणलाई दुःख नदिन सरकारलाई निर्देशन दिएको हो।

    न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सीमा क्षेत्रमा हुने जाँच र भन्सार कार्यान्वयनका क्रममा नागरिकको सम्मान र मर्यादामा असर नपर्ने गरी व्यवहार गर्न पनि आदेश दिएको छ। आदेशमा संविधानको धारा १६ अन्तर्गत रहेको ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ लाई ध्यान दिन भनिएको छ।

    अदालतले व्यावसायिक प्रयोजनका सामान ओसारपसार र चोरी पैठारी नियन्त्रण गर्नु राज्यको दायित्व भएको स्वीकार गरे पनि व्यक्तिगत प्रयोगका न्यूनतम सामानमा कठोर कार्यान्वयन उचित नदेखिएको संकेत गरेको छ। विशेषगरी सीमा क्षेत्रका स्थानीय बासिन्दाले दैनिक आवश्यकताका सामग्री ल्याउँदा अनावश्यक अवरोध नगर्न अदालतले स्पष्ट पारेको छ।

    यद्यपि, अदालतले भन्सार महसुल लगाउने अधिकार राज्यको सार्वभौम अधिकार भएकाले सय रुपैयाँको सीमा निर्धारणको वैधानिकता र औचित्यबारे अन्तिम निर्णय भने पूर्ण सुनुवाइपछि मात्रै हुने जनाएको छ।

    अधिवक्ता मितेश पण्डितलगायतले दायर गरेको रिटमा २०८२ जेठ १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाले व्यवहारिक समस्या सिर्जना गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गरिएको थियो। साथै, सय रुपैयाँको सीमा निर्धारण आफैंमा अव्यावहारिक र गैरन्यायिक भएको जिकिर गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।