काठमाडौँ– आशिष देवकोटा नेतृत्वको टोलीले कर्णाली प्रदेशका रैथाने कृषि तथा जडीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार सम्भावनाबारे नेपालका लागि इजरायलका राजदूतसँग छलफल गरेको छ।
नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भएको भेटवार्तामा कर्णाली क्षेत्रका उत्पादनलाई वैश्विक बजारमा पुर्याउने सम्भावना, कृषि आधुनिकीकरण तथा जडीबुटी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
छलफलका क्रममा कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो र रनालोलगायतका रैथाने बालीलाई इजरायलसम्म निर्यात गर्न सकिने सम्भावनाबारे धारणा राखिएको थियो। साथै ती उत्पादनको बजारीकरणमा कूटनीतिक सहयोग आवश्यक रहेको विषयसमेत उठाइएको थियो।
यस्तै यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा तथा घुच्ची च्याउजस्ता उच्च मूल्यका जडीबुटी तथा वनउत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ।
भेटमा सहभागी पक्षले यस्ता उत्पादनको विकास र निर्यात विस्तारले नेपाल र इजरायल दुवै देशलाई आर्थिक तथा व्यापारिक रूपमा लाभ पुग्न सक्ने धारणा व्यक्त गरिएको उल्लेख छ।