आईटीमा धेरै परियोजना, कृषिमा सबैभन्दा ठूलो लगानीः १० महिनामा ४५ अर्ब वैदेशिक प्रतिबद्धता - Chaitanya News
  • 2026-05-17
  • 13:42:13
  • आइतबार,जेठ ०३, २०८३
  • आईटीमा धेरै परियोजना, कृषिमा सबैभन्दा ठूलो लगानीः १० महिनामा ४५ अर्ब वैदेशिक प्रतिबद्धता

    आईटीमा धेरै परियोजना, कृषिमा सबैभन्दा ठूलो लगानीः १० महिनामा ४५ अर्ब वैदेशिक प्रतिबद्धता

    काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता ४५ अर्ब रुपैयाँ नाघेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० प्रतिबद्धता आएको हो।

    तथ्याङ्कअनुसार परियोजनाको सङ्ख्यामा सूचना प्रविधि ९आईटी० क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। ४ सय २१ वटा आईटीसम्बन्धी परियोजनाले लगानी स्वीकृति पाए पनि यस क्षेत्रमा प्रतिबद्ध लगानी रकम भने एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ मात्रै रहेको छ।

    यता, सबैभन्दा ठूलो लगानी भने कृषिमूलक उद्योगमा केन्द्रित भएको छ। केवल १६ परियोजनामार्फत २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यसले कम परियोजनामा पनि ठूलो आकारको लगानी कृषि क्षेत्रमा आकर्षित भएको देखाएको छ।

    पर्यटन क्षेत्र पनि वैदेशिक लगानीकर्ताको रोजाइमा परेको छ। १ सय ८९ पर्यटन परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

    त्यसैगरी सेवामूलक ५५ परियोजनामा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ, उत्पादनमूलक ४२ परियोजनामा २ अर्ब ७० करोड रुपैयाँ तथा पूर्वाधार क्षेत्रको एक परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

    ऊर्जा क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ र खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    गत चैतसम्म ६ सय १५ परियोजनाबाट ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा वैशाख महिनामा मात्रै थप १ सय १३ परियोजनाबाट ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ प्रतिबद्धता थपिएको हो।