दुई महिनामा २२ अर्ब खर्चको चापमा कोशी सरकार, फेरि ‘असारे विकास’ दोहोरिने संकेत - Chaitanya News
  • 2026-05-16
  • 15:20:26
  • शनिबार,जेठ ०२, २०८३
  • दुई महिनामा २२ अर्ब खर्चको चापमा कोशी सरकार, फेरि ‘असारे विकास’ दोहोरिने संकेत

    दुई महिनामा २२ अर्ब खर्चको चापमा कोशी सरकार, फेरि ‘असारे विकास’ दोहोरिने संकेत

    विराटनगर– चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदा कोशी प्रदेश सरकारमाथि बजेट खर्चको ठूलो दबाब परेको छ । लक्ष्यअनुसार खर्च गर्न सरकारले अब जेठ र असार महिनामै करिब २२ अर्ब ९५ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार प्रदेश सरकारले ३६ अर्ब २ करोड २ लाख रुपैयाँको कुल बजेटमध्ये हालसम्म १३ अर्ब ७ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो कुल बजेटको करिब ३६ प्रतिशत मात्र हो । अर्थात् अझै ६३ प्रतिशतभन्दा बढी बजेट खर्च हुन बाँकी छ ।

    विशेषगरी विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । सरकारले पुँजीगततर्फ १७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरे पनि १० महिनामा ५ अर्ब २९ करोड रुपैयाँ मात्रै खर्च भएको छ । अब बाँकी दुई महिनामा मात्रै ११ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी विकास बजेट खर्च गर्नुपर्ने दबाब सिर्जना भएको छ ।

    यसले विगतका वर्षझैँ आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट सक्ने प्रवृत्ति अर्थात् ‘असारे विकास’ फेरि दोहोरिन सक्ने संकेत देखिएको छ ।

    सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च अवस्था पनि सन्तोषजनक छैन । मन्त्रालयले हालसम्म ३ अर्ब २४ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ भने अझै ७ अर्ब १८ करोड रुपैयाँ बजेट बाँकी छ ।

    यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विनियोजित बजेटमध्ये २ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्न बाँकी छ । स्वास्थ्य मन्त्रालयमा पनि २ अर्ब ८ करोड रुपैयाँभन्दा बढी बजेट अझै खर्च हुन सकेको छैन ।

    चालु खर्चतर्फ भने पुँजीगत खर्चको तुलनामा केही राम्रो अवस्था देखिएको छ । १८ अर्ब ७७ करोड रुपैयाँ चालु बजेटमध्ये ७ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ, जुन करिब ४१ प्रतिशत हो ।

    खर्च कार्यान्वयन कमजोर देखिए पनि राजस्व सङ्कलनमा भने प्रदेश सरकारले केही सुधार देखाएको छ । वैशाख मसान्तसम्म प्रदेशले आन्तरिक आम्दानी, राजस्व बाँडफाँड र संघीय अनुदानसहित २५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ ।