काँग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै - Chaitanya News
  • 2026-04-24
  • 10:13:24
  • शुक्रबार,बैशाख ११, २०८३
  • काँग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

    काँग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

    काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ।

    काँग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो।

    दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ। उम्मेदवारी दर्ताका लागि (आज) शुक्रबार दिउँसो ३ बजेदेखिको समय तोकिएको छ भने ४ः४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचनका लागि भने अपराह्न ५ बजेदेखिको समय तोकिएको छ।

    काँग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन्।

    भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन्।

    पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त काँग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन्। दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।