काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजको बैठकले सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गर्न सक्ने बताइएको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने तयारी अघि बढाइएको हो ।
महानिरीक्षक पदका लागि एआईजीद्वय नारायणदत्त पौडेल र वंशिधर दाहालबीच प्रतिस्पर्धा रहेको छ । पौडेल दाहालभन्दा करिब पाँच महिना अघि एआईजीमा बढुवा भएकाले उनी अगाडि देखिएको बताइएको छ । यद्यपि सरकारले उपयुक्त ठानेको व्यक्तिलाई आइजीपी नियुक्त गर्न सक्नेछ ।
यससँगै बैठकमा मन्त्रालयहरूको नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ ।