वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य : ओली - Chaitanya News
  • 2026-04-22
  • 21:25:26
  • बुधबार,बैशाख ०९, २०८३
  • वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य : ओली

    वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य : ओली

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा देखा परेका चुनौतीहरू सामना गर्न पार्टीभित्र एकता अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्।

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रत्यक्ष उपस्थित हुन नसके पनि लिखित सन्देश पठाएका थिए। स्वास्थ्य अवस्थाका कारण घरमै आराम गरिरहेका ओलीको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कार्यक्रममा वाचन गरेका हुन्।

    सन्देशमा ओलीले पार्टी नेतृत्वमा भएका आन्दोलनहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै कठिन समय र पीडादायी अनुभव पनि सँगै भोग्नुपरेको बताएका छन्। निरंकुश शासन अन्त्यदेखि गणतन्त्र स्थापनासम्म पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

    उनले मुलुकलाई समृद्ध र सुखी बनाउने दिशामा पार्टीले योगदान दिएको उल्लेख गर्दै विभिन्न प्रतिकूल परिस्थितिहरू पार गर्दै संगठन यहाँसम्म आइपुगेको स्मरण गरेका छन्। वर्तमान अवस्थामा देखिएका चुनौतीलाई सामना गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको सन्देशमा उल्लेख गरिएको छ।

    सन्देश वाचन गर्दै बादलले पार्टीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न निरन्तर एकताको आवश्यकता रहेको धारणा ओलीको सन्देशमा समेटिएको जानकारी दिएका थिए।