अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण सकियो, रास्वपासँग दुई देशबीच साझेदारीबारे छलफल - Chaitanya News
  • 2026-04-22
  • 15:05:09
  • बुधबार,बैशाख ०९, २०८३
  • अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण सकियो, रास्वपासँग दुई देशबीच साझेदारीबारे छलफल

    अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण सकियो, रास्वपासँग दुई देशबीच साझेदारीबारे छलफल

    काठमाडौं– अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण आज सम्पन्न भएको छ। भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

    भारतीय मुलका कपुर ७ वैशाखमा काठमाडौं आएका थिए। बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन्।

    नेपाल बसाइँको क्रममा उनले सत्तारुढ रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने, लगानी प्रवर्द्धन गर्ने र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा विचार आदान–प्रदान भएको थियो।

    सहायक सचिव कपुरले अमेरिकामा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे छलफल गरेका थिए। साथै, उनले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिसँग पनि छलफल गर्दै नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने प्रयास गरेका थिए।

    भ्रमणका क्रममा उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन पनि गरेका छन्। उनले बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए । यी सम्पदाहरू संरक्षण गर्न अमेरिकाले ‘एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत सहयोग गर्दै आएको छ।