काठमाडौं– नेपालमा चालु आर्थिक वर्षमा तेस्रो त्रैमासिक अवधिसम्म ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् भने सो रकम बराबरको लगानी स्वीकृत गरिएको छ। यस अवधिमा अटोमेटिक रुटबाट ४ अर्ब ९ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ६९ करोड बराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ।
जसमध्ये अटोमेटिक रुटबाट संख्यात्मक रुपमा सबैभन्दा धेरै ४२६ कम्पनी दर्ता भएका छन्। अप्रुभल रुटबाट १८९ कम्पनी दर्ता भएको देखिन्छ। चैतमा मात्र कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यस महिनामा ६१ उद्योग दर्ता भएका छन्।
यस वर्ष दर्ता भएका अधिकांशको प्रकृति भने साना उद्योग रहेको छ। यस अवधिमा मझौला र ठूला उद्योग ८–८ वटा मात्र दर्ता भएका छन्। चैत महिनामा दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन्। क्षेत्रगत रुपमा हेर्दा यस वर्ष सबैभन्दा धेरै संख्यामा सूचना प्रविधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
तर, लगानी प्रतिबद्धता भने अन्य क्षेत्रमा बढी देखिन्छ। विभागका अनुसार सूचना प्रविधिका कुल ३४६ उद्योग दर्ता भएका छन्। जुन ५६ प्रतिशत बराबर हो । पर्यटनका १६४ उद्योग दर्ता भएका छन्। जुन २७ प्रतिशत बराबर हो।
कृषिका १६, ऊर्जाका २, उत्पादनमूलक उद्योग ३८, खानीका २ उद्योग दर्ता भएका छन्। रकमका आधारमा सबैभन्दा धेरै कृषिमा २२ अर्ब, पर्यटनमा ११ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
घट्दो प्रवृत्ति:
एफडीआई भित्रने क्रम भने यस वर्ष घटेको छ। गत आवको ९ महिना (साउन–चैत) मा ५८ अर्ब हाराहारी एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ।
जुन आव २०८०– ८१ को तुलनामा समेत २७ अर्ब ८८ करोडले धेरै थियो। गत आवको चैतमा मात्र १३ अर्ब १७ करोडको एफडीआई स्वीकृत भएकोमा यस वर्ष १ अर्ब रुपैयाँको मात्र स्वीकृत भएको छ । गत आवमा तेस्रो त्रैमाससम्म कुल ४६८ कम्पनी दर्ता भएको तथ्यांक छ।