कार्की आयोगको प्रतिवेदनबारे काँग्रेसद्वारा आन्तरिक अध्ययन तीव्र, निष्कर्षसहितको दस्तावेज पार्टी नेतृत्वसमक्ष पेश - Chaitanya News
  • 2026-04-18
  • 19:19:36
  • शनिबार,बैशाख ०५, २०८३
  • कार्की आयोगको प्रतिवेदनबारे काँग्रेसद्वारा आन्तरिक अध्ययन तीव्र, निष्कर्षसहितको दस्तावेज पार्टी नेतृत्वसमक्ष पेश

    कार्की आयोगको प्रतिवेदनबारे काँग्रेसद्वारा आन्तरिक अध्ययन तीव्र, निष्कर्षसहितको दस्तावेज पार्टी नेतृत्वसमक्ष पेश

    काठमाडौँ– नेपाली काँग्रेसले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी सरकारी आयोगको प्रतिवेदनमाथि थप विश्लेषण जारी राखेको जनाएको छ।

    पार्टीका प्रवक्ता देवराज चालिसेले प्रारम्भिक अध्ययनपछि अब विस्तृत समीक्षा सम्पन्न गरी आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

    सरकारद्वारा गठित आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई गम्भीर रूपमा मूल्यांकन गर्न काँग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा विज्ञसहितको अध्ययन समूह गठन गरेको थियो। उक्त समूहले लामो समयसम्म अनुसन्धान र विश्लेषण गरी आफ्नो निष्कर्षसहितको प्रतिवेदन तयार पारेको र सो दस्तावेज पार्टी नेतृत्वसमक्ष पेश गरिएको जनाइएको छ।

    उक्त अध्ययन प्रतिवेदन करिब ५२ पृष्ठको रहेको बताउँदै त्यसमा समेटिएका निष्कर्ष र सुझावका आधारमा पार्टीको आधिकारिक धारणा निकट भविष्यमै सार्वजनिक गरिने तयारी रहेको प्रवक्ता चालिसेले उल्लेख गरेका छन्।

    यसैबीच, काँग्रेसले संगठनात्मक सुधार अन्तर्गत सदस्यता व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रक्रिया अघि बढाएको जनाएको छ। पार्टी महाधिवेशनको तयारीसँगै हालसम्म प्रचलित म्यानुअल प्रणालीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम अगाडि बढाइएको जानकारी दिइएको छ।