काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले निर्वाचनमा पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा नहुने बताएका छन्। उनले केन्द्रीय कार्यसमितिमै रहिसकेका नेताहरूले समेत पार्टीको निर्णयविपरीत गएर पार्टी र पार्टी संलग्न गठबन्धनका उम्मेदवारविरुद्व उम्मेदवारी दिएको भन्दै पार्टीमा अनुशासन संकटमा पर्दै गएको बताए।
‘जोमाथि कारवाही भएको छ र प्रमाण पुगिसकेको छ उनीहरूको कारवाही फिर्ता हुँदैन, अन्तर्घात गर्नेहरूको हकमा प्रमाणलाई आधार मानेर कारवाहीको प्रक्रिया अघि बढाउँछौँ,’ ढुंगानाले भने।
अनुशासन समितिले निर्वाचनमा पार्टीको विधान र निर्णयविपरीत जानेहरूलाई चुनावकै बेला कारवाही गरेको थियो भने अन्तर्घात गर्नेविरूद्व उजुरी माग गरेको छ। उजुरीहरूसँगै प्रमाण पनि संकलन हुने र त्यसको आधारमा कारवाही प्रक्रिया अघि बढाइने संयोजक ढुंगानाले बताए।
निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्रसहित पाँच दलसँग गठबन्धन गरेको थियो। केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन–३ मा गठबन्धनविरुद्व उम्मेदवारी दिएका थिए। संयोजक ढुंगानाले केन्द्रीय सदस्य कोइरालाविरुद्वको कारवाही फुकुवा नहुने दाबी गरे। उनले निर्वाचनमा पार्टीको अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पनि विधानबमोजिम कारवाही गरिने बताए।
अनुशासन समितिले यसअघि निर्वाचनको बेला नै अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ताहरुलाई सदस्यबाट निलम्बन गरिसकेको छ।