कठमाडौं– शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले स्थापनाको १२ औं वर्ष सफलतापूर्वक पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ। यस सुखद अवसरमा एकेडेमीले ‘चैतन्य मिलन तथा सम्मान कार्यक्रम’ आयोजना गरी आफ्नो गौरवपूर्ण यात्रालाई स्मरण गरेको छ।
अध्ययन अनुसन्धान, तालिम, सेमिनार, गोष्ठी, सिए, लोकसेवा, शिक्षक सेवा, बैकिङ, विभिन्न सँस्थान तथा सेना–प्रहरी जस्ता विभिन्न सरकारी सेवाको तयारी गर्न चाहानेहरुलाई चैतन्यले एक दशक भन्दा बढी समयदेखि प्रशिक्षण दिँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूले चैतन्य एकेडेमीको योगदान र उपलब्धिहरूको खुलेर प्रशंसा गरेका थिए। वक्ताहरूले चैतन्य एकेडेमी केवल लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने संस्था मात्र नभई ‘बौद्धिक जागरणको केन्द्र’को रूपमा स्थापित भएको धारणा व्यक्त गरे।
![]()
![]()
यस्तै, नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रिताल लाई ‘असल शासन पैरवी सम्मान २०८२’ द्वारा सम्मानित गरिएको छ। हिजो (शुक्रबार) इन्ड्रेणीको सभा हलमा आयोजित विशेष समारोहमा उनलाई नगद रु. १ लाखसहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो।
चैतन्य एकेडेमी नेपालले प्रत्येक वर्ष सेमिनार आयोजना गरी प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष ‘जेनजी आन्दोलन’को प्रभावका कारण औपचारिक कार्यक्रम आयोजना गर्न नसकिएकाले वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिएको जनाइएको छ।
सङ्खुवासभाको खाँदबारीमा जन्मिएका तथा हाल काठमाडौं महानगरपालिका–७ का स्थायी बासिन्दा शारदा प्रसाद त्रितालले तीन दशकभन्दा बढी समय निजामती सेवामा योगदान दिएका छन्। सार्वजनिक प्रशासनमा इमान्दारिता, पारदर्शिता र उच्च नैतिक मूल्य कायम राख्दै काम गरेको व्यक्तित्वका रूपमा उनी परिचित छन्।
![]()
![]()
कार्यक्रममा एकेडेमीका संस्थापक तथा कार्यकारी निर्देशक गणेश जोशीले सार्वजनिक सेवामा सुशासन कायम गर्न निरन्तर योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्न पाउनु संस्थाका लागि गर्वको विषय भएको बताए। सम्मानपत्र वाचन गर्दै उनले त्रितालको स्वास्थ्य र दीर्घायुको कामना पनि व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल प्रसाद कोइराला ले त्रिताललाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा चैतन्य एकेडेमीले आगामी दिनमा पनि सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।
यसअघि पनि उक्त सम्मान लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली र नेपाल सरकारका पूर्व मुख्य सचिव विमल प्रसाद कोइराला लाई प्रदान गरिसकेको एकेडेमीले जनाएको छ।
![]()
यस्तै, कार्यक्रममा बोल्दै लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले निजामती सेवामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि उचित मार्गदर्शन र उत्कृष्ट शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए। उनले चैतन्य एकेडेमीको सफलताको प्रशंसा गरे।
व्यस्त समयतालिका हुँदाहुँदै पनि संस्थासँगको पुरानो सम्बन्धका कारण कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै मैनालीले भने, “असल व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम भएकाले म उपस्थित हुनैपर्छ भन्ने लाग्यो।” उनले योग्य व्यक्तिलाई सम्मान गर्ने परम्परा स्थापित गरेकोमा संस्थाप्रति खुशी व्यक्त गरे।
मैनालीले विगत १२ वर्षदेखि चैतन्य एकेडेमीले लोकसेवा तयारी कक्षामा पुर्याएको योगदानको चर्चा गर्दै प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन अनुभवी शिक्षक र सही मार्गदर्शन अत्यावश्यक हुने बताए। उनले पाठ्यक्रम मात्र होइन, परीक्षाको मर्म बुझाउन सक्ने संस्थाको आवश्यकता औंल्याउँदै यस क्षेत्रमा चैतन्य एकेडेमी सफल रहेको उल्लेख गरे।
कार्यक्रममा उनले सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्थाले अझ आधुनिक र प्रविधिमैत्री शिक्षण विधि अपनाउनुपर्ने सुझाव दिए। “१२ वर्षको यात्रामा धेरैलाई राष्ट्रसेवामा ल्याउन सफल भएको यो संस्था अझ सशक्त बनोस्,” उनले भने।
![]()
यसैगरी, कार्यक्रममा बोल्दै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले चैतन्यको प्रारम्भिक दिनहरूको स्मरण गर्दै भने, “मैले चैतन्य स्थापना हुनुअघि देखिका दिनहरू पनि देखेको छु। स्थापना कालदेखि अहिलेसम्म अनेकौं उतारचढाव आए, तर संस्थाले आफ्नो उद्देश्यबाट कहिल्यै सम्झौता गरेन।” उनले सानो स्तरबाट लोकसेवा आयोगका परीक्षार्थीहरूलाई लक्षित गरी सुरु भएको संस्था अहिले चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट र चैतन्य स्कूल जस्ता विभिन्न शैक्षिक शाखाहरूमा विस्तार भई ‘समूह’को रूपमा विकास भएकोमा खुशी व्यक्त गरे।
![]()
यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले चैतन्य एकेडेमी केवल एउटा ट्युसन सेन्टर मात्र नभई यो शिक्षा र संस्कारको केन्द्रू भएको बताए। उनले भने, यो संस्थाले पछिल्लो १२ वर्षदेखि जुन प्रकारको शैक्षिक अनुशासन र गुणस्तर कायम गरेको छ, त्यो आफैँमा प्रशंसनीय छ। यसले नेपाली शैक्षिक बजारमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ।
![]()
एकेडेमीले विशेषगरी लोकसेवाका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेका कक्षाहरूले धेरैलाई सरकारी सेवामा प्रवेश गर्न सफल बनाएको कुरामा उनलेले जोड दिए। उनले भने दक्ष प्रशिक्षकहरू अनुभवी र विशेषज्ञ शिक्षकहरूबाट प्रदान गरिने शिक्षाले विद्यार्थीको आत्मविश्वास बढाएको छ।
प्रविधि र शिक्षाः कोभिड–१९ जस्तो कठिन समयमा पनि जुम प्रविधिको प्रयोग गरी शिक्षालाई निरन्तरता दिएको भन्दै संस्थाको दूरदर्शिताको चर्चा गरे।
![]()
यस्तै एकेडेमीले आफ्नो स्थापनाको १२ वर्ष सफलतापूर्वक पूरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाको प्रगतिमा अहोरात्र खटिने उत्कृष्ट कर्मचारीहरूलाई नगद पुरस्कार तथा सम्मान–पत्रद्वारा पुरस्कृत पनि गरेको छ।
![]()
यस अवसरमा संस्थाका सिइओ गणेशप्रसाद जोशी ले विगत १२ वर्षको यात्रामा संस्थाले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
उनका अनुसार चैतन्यले हालसम्म १० वटा राष्ट्रियस्तरका सेमिनार, ५५० भन्दा बढी पेशागत तथा नेतृत्व विकास तालिम, गोष्ठी र कार्यशाला सञ्चालन गरेको छ। साथै ७५० भन्दा बढी भावी सिएहरूलाई अध्यापन गरिसकेको र लाखौँ विद्यार्थीलाई लोकसेवा लगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा प्रदान गरेको छ।
संस्थाले नीति निर्माण, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ भने दर्जनौँ पुस्तक प्रकाशन गरेर बौद्धिक क्षेत्रमा योगदान दिएको जोशीले बताए। नियमित शैक्षिक क्रियाकलापसँगै आध्यात्मिक, सामाजिक तथा व्यक्तित्व विकासका क्षेत्रमा पनि संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे।
![]()
कोभिड–१९ को कठिन समयमा पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीलाई सहयोग गरेको चैतन्यले ‘शनिबारीय निःशुल्क शृङ्खला’मार्फत लाखौँ युवालाई जोड्न सफल भएको छ। हाल धनगढी र बुटवलमा शाखा विस्तार गरिसकेको संस्थाले अन्य प्रदेशमा समेत विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।
![]()