काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन्। अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन्।
ओलीसँगको बयान पूरा भएको छ। अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन्। उनले भदौ २३ मा काठमाडौँको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन्। अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ओलीले बयानमा भनेका छन्, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो।’
जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन्। बयानमा ओलीले भनेका छन्, ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ।’
हुलदङ्गा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको ओलीले बयानमा बताएका छन्। बल प्रयोगको विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन।’
बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन्। बयानमा उनले भनेका छन्,‘गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन।’
भदौ २३ मा बानेश्वरमा हताहती भएपछि साँझ मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने र घाइतेको उपचार साथै मृतकको परिवारलाई राहत दिने निर्णय गरेको ओलीले बयानमा खुलाएका छन्। उनले भनेका छन्, ‘सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालनको मनसाय सरकारको नभएकोले त्यसो गरिएन।’